चाबहिलमा एक पुरुषले आफूसहित श्रीमती र ३ छोरीलाई मट्टितेल खन्याएर आगो लगाए

जेष्ठ २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
चाबहिलमा एक पुरुषले आफूसहित श्रीमती र ३ छोरीलाई मट्टितेल खन्याएर आगो लगाए

काठमाडौं । काठमाडौंको चाबहिलमा एक पुरुषले श्रीमती र ३ छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् । चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएका छन् । 

काठमाडौं प्रहरी वृत्त, गौशालाका डीएसपी केशव थेबेका अनुसार सिंहले श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएको जानकारी दिनुभयो । थेबेका अनुसार आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

२४ र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार भइरहेको प्रहरीले जनाएको छ । १६ वर्षीया छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । अन्य तीन जनाको भने शरीरको ८ देखि १० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

सिंहले मादक पदार्थ सेवन गरी मंगलबार राति झगडा गरी परिवारकै सदस्यलाई मट्टीतेल खन्याएर आगो लगाई आफूलाई पनि आगो लगाएको प्रहरीले जनाएको छ । 

यसैगरी, मोरङको विराटनगरमा पनि एक जना पुरुषले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका छन् ।

शरीरमा आगो लगाएका विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनु भयो । उहाँका अनुसार विराटनगर–७ हरियाली टोलमा कामतले मंगलबार साँझ करिब ८ बजेतिर पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

आगोले कामतको शरीरको लगभग ७० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । कामतको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement