पहिरोले आफन्त र घर खोस्यो, राज्यले राहत पनि दिएन

भाद्र १९, २०८३ |मीनराज रोका
पहिरोले आफन्त र घर खोस्यो, राज्यले राहत पनि दिएन

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका ५ कोटलबारामा पहिरो गएको एक महिना पुग्नैलाग्दासमेत पीडितलाई अहिलेसम्म पनि सरकारले राहत उपलब्ध गराउन सकेको छैन । 

पहिरोमा परी ज्यान गुमाएका आफन्तको सम्झनाले पीडामाथि झन पीडा दिइरहेको छ भने गाँसबासको कुनै टुङ्गो लागेको छैन । पहिरोमा परी आफन्त तथा घरबार गुमाएकाहरू अहिले पनि स्वास्थ्यचौकीमा बसिरहेका छन् । विभिन्न निकायले सङ्कलन गरेको राहत आधा बाटोमै थन्किएको छ ।

रोल्पा थबाङ गाउँपालिका ५ उवा कोटलबाराकी सम्झी पुनलाई मृत आफन्तको यादले सताइरहन्छ । गत साउन २७ गते राति कोटलबारामा गएको पहिरोमा परी सम्झीले आमाबुबा, दिदी र एउटा छोरा गुमाउनुभयो भने एउटा छोरा अझै बेपत्ता छन् ।

बेपत्ता छोरा भेटिने आशामा उहाँ खोजीकार्यका लागि सरोकारवाला निकायमा धाइरहनुभएको छ । ज्याला मजदुरीका लागि मुस्ताङमा रहेकी सम्झी घटना थाहा पाएपछि गाउँ आउनुभएको हो । छोराहरू माइतीमा राखेर पढाइरहनुभएको थियो । 

सम्झी कहिले आफन्तको घरमा त कहिले स्वास्थ्यचौकीमा बस्ने गर्नुभएको छ । अर्का पीडित सुशील पुनले पहिरोमा बुबाआमा र ठूलो बुबा गुमाउनुभयो । आफन्तसँगै उहाँका दुई घरसमेत पहिरोले बगायो । घर गुमाएपछि सुशील पनि अहिले स्वास्थ्यचौकीमै आश्रय लिइरहनुभएको छ।

यहाँका १३ घर परिवार पहिरोपीडित अहिले पनि अस्थायी टहरामा समेत बस्न पाएका छैनन् । राहतको नाममा केही संघ/संस्थाले दिएको केही रकम र प्रति परिवार ४ बोरा चामल मात्र पाएका छन् । कोटलबारा पहिरो पीडितका लागि संकलन गरिएको अधिकांश सामग्री सुनछहरी गाउँपालिकाको फुलिबनमै रोएकिएको छ । 

स्वास्थ्यचौकीमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको भए पनि ओढ्ने, ओछ्याउने कपडासमेत नहुँदा चिसो भुँइमा रात काट्नुपर्छ । कोटलबारा जोड्ने सडक पहिरोले अवरुद्ध भएपछि राहत सामग्री फुलिवनमै रोकिएको हो । 

फुलिवनबाट कोटलबारा पुग्न पैदल करिब दुई घण्टा लाग्छ । तर, राहत पुर्याउन न स्थानीय तहले पहल गरेको छ, न जिल्ला प्रशासननै जिम्मेवार भएको छ । बरु सबै सडक नभएको कारण देखाउँदै जिम्मेवारीबाट पन्छिइरहेका छन् ।

कोटलबाराको पहिरोमा परी १२ जनाले ज्यान गुमाएका थिए भने एक जना अझै बेपत्ता छन् । एक जना घाइतेको उपचार जारी छ । पहिरोले ९ वटा घर, एउटा पसल, २ वटा गोठ र एउटा चर्च बगाएको थियो ।


Image

मीनराज रोका

रोका कान्तिपुर टेलिभिजन रोल्पा संवाददाता हुन् ।