बाढीले घर खोस्यो, कालिका गाउँपालिकाले दियो आश्रय

भाद्र १७, २०८३ |माधव अर्याल
बाढीले घर खोस्यो, कालिका गाउँपालिकाले दियो आश्रय

पाल्पा । भदौ १० गतेको भोटेकोशी बाढीबाट बाँच्न सफल भएकाहरू रसुवाका डाँडामा रहेका बस्तीमा आश्रय लिनपुगेका छन् । 

छिमेकी जिल्ला नुवाकोटबाट समेत ज्यान जोगाएका नागरिक त्यहीँ पुगेका छन् । उनीहरूका लागि राहत सङ्कलन गरेरै भए पनि होल्डिङ सेन्टर सञ्चालन गरी बास र खानाको व्यवस्थापन गरिएको छ । रसुवाको कालिका गाउँपालिकाले विभिन्न स्थानबाट विस्थापित भएर पुगेका, घाइतेका साथै परिवार गुमाएकाहरूलाई सहयोग गरिरहेको छ ।

भदौ १० गतेको बाढीबाट रसुवाको कालिका गाउँपालिकाबाट १ सय ४० जना व्यक्ति बेपत्ता भएका छन् । ३५ घर परिवार पूर्णरूपमा विस्थापित भएका छन् । सबैभन्दा धेरै क्षति वडा नम्बर १ मा भएको छ । यो सङ्ख्या अझै यकिन भने भएको छैन ।

विस्थापितहरूका लागि गाउँपालिकाले गर्नसक्ने सहयोगमा कुनै कमि हुन नदिएको दाबी गरेको छ । बेपत्ता भएका साथै पूर्ण विस्थापित भएकाहरू कहाँ पुगेर सान्त्वना दिने, गाउँपालिकाबाट दिनसक्ने राहत दिइसकेको र विस्थापितहरूको पुनर्स्थापनामा छलफल अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

बाढीबाट विस्थापित स्थानीय तथा अन्य स्थानबाट ज्यान जोगाउँदै कालिकाका विभिन्न स्थानमा पुगेकाहरूका लागि गाउँपालिकाले होल्डिङ सेन्टर सञ्चालन गरेको छ । कालिकास्थित हिमालय क्याम्पसमा सञ्चालन भएको होल्डिङ सेन्टरबाट बाढीमा फसेर ज्यान जोगाउन आएकालाई रसुवाका साथै नुवाकोटका विभिन्न स्थानमा हेलिकोप्टरमार्फत पठाउने कार्य गरिएको छ । 

तर, संघीय सरकारबाट रसुवा क्षेत्रमा उद्धार तथा राहतको काममा आफूहरूसँग समन्वय नभएको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ । रसुवा र नुवाकोटका बेत्रावती, भोर्ले, मैलुङ, किस्पाङ, बेताङलगायतका स्थानका नागरिकले कालिका गाउँपालिकाको होल्डिङ सेन्टरमा आएर आश्रय लिएका छन् । 

घाइते अवस्थामा आएकाहरूलाई नेपाली सेनाको समन्वयमा उपचारका लागि काठमाडौं पठाइएको छ । बाढी प्रभावित क्षेत्रका बासिन्दाका अनुसार रसुवा क्षेत्रका नदी किनारमा रहेका शवहरू अझैसम्म सङ्कलन भएको छैन । घाइतेहरूमध्ये पनि सबैलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाउन सकिएको छैन ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।