
काठमाडौं । रसुवा बाढीमा परी विभिन्न जिल्लामा सङ्कलन भई पोखरा लगिएका एक सय दुई शवमध्ये ८३ वटाको व्यवस्थापन गरिएको छ ।
धादिङ, गोरखा, तनुहुँ, चिवतवन, पूर्वी नवलपरासीमा प्राप्त एक सय दुईमध्ये ८३ शव मङ्गलबार पोखरा १६ मा व्यवस्थापन गरिएको हो । शवहरू सुरक्षित राख्ने जोखिम बढेपछि कास्की प्रशासनले पहिचान हुन नसकेका शवहरूको बेवारिसे शव व्यवस्थापन निर्देशका २०७८ अनुसार व्यवस्थापन गरिएको जनाएको छ ।
शव व्यवस्थापन गर्न जिल्ला विपद् व्यवस्थापन समिति कास्की र पोखरा महानगरपालिकाले पोखरा १६ मा सुरक्षित स्थान उपलब्ध गराएको थियो । शव राखिएको स्थानलाई पूर्णरूपमा तारजालीले घेरेर ताल्चा लगाइने जनाएको छ । पूर्वी नवलपरासीमा फेला परेका ४०, धादिङमा २७, तनहुँमा २४ र गोरखामा फेला परेका ११ वटा शव पोखरा लगिएको थियो ।
तीमध्ये पोखरामा १९ शव पहिचान भई आफन्तलाई हस्तान्तरण गरिएको छ । यसैबीच पाल्पाका तीनवटा अस्पतालमा लगिएका आठमध्ये सातवटा शवको पहिचान नखुलेपछि व्यवस्थापन गरिएको छ । सबै प्रक्रिया पूरा गरी मङ्गलबर शव व्यवस्थापन गरिएको हो ।
विपद व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले तानसेन नगरपालिका १ स्थित श्रीनगर पर्यापर्यटन सामुदायिक वनमा व्यवस्थापन गर्ने निर्णय थियो । पूर्वी नवलपरासीमा फेला परेका शव पाल्पा पठाइएको थियो । त्यस्तै पूर्वी नवलपरासीमा फेला परेको २ सय १६ मध्ये १ सय ५९ वटा शव व्यवस्थापन गरिएको छ ।
१७ वटा शव आफन्तले बुझेर लगेका छन् । नारायणी नदी किनारमा भदौ १० गते देखिनै खोजतलास भैरहेको छ । पहिचान नखुलेका शवलाई कावासोतीको ज्योतिकुञ्ज सामुदायिक वन र देवचुली नगरपालिकाको दिव्य मध्यवर्ती सामुदायिक वन क्षेत्रमा जमिनमुनि गाडेर व्यवस्थापन गरिएको छ ।
त्यस्तै पश्चिम नवलपरासीको नारायणी किनारमा फेला परेका १ सय ७३ र भारतमा भेटिएर नेपाललाई हस्तान्तरण गरिएको ९ शवमध्ये ६८ वटा शव सुनवलको मूलपानी सामुदायिक वनमा व्यवस्थापन गरिएको छ भने तीनवटा शवको सनाखत भएर आफन्तको जिम्मा लगाइएको छ ।
डीएनए र पोष्टमार्टमका लागि जनशक्ति कम हुँदा पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा शव गन्हाउन थालेका छन् । यसरी व्यवस्थापन गरिएका शव डीएनए परीक्षणपछि पहिचान भएमा आफन्तले आफ्नो रीतिरिवारअनुसार दाहसंस्कार गर्न लैजान पाउनेछन्। त्यसैले पछि निकाल्नुपरेमा सहज हुनेगरी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।