पहिरोको जोखिममा रहेका अछामका ९६ परिवारले पाए सुरक्षित घर

भाद्र ३, २०८३ |खम्म खत्री
पहिरोको जोखिममा रहेका अछामका ९६ परिवारले पाए सुरक्षित घर

अछाम । अछामको मेल्लेख गाउँपालिकाका पहिरो र प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका ९६ परिवारले नयाँ घर पाएका छन् । 

लामो समयदेखि पहिरोको सन्त्रासमा बाँचिरहेका अति विपन्न परिवारले गाउँपालिकाको पहलमा सुरक्षित आवास पाएका हुन् । पालिकाले आठै वडामा लाभग्राहीकै थातथलोमा सुरक्षित ठाउँ खोजेर घर बनाइदिएको हो ।

घर पाएपछि इशरा विकको अनुहारमा छचल्किएको खुसी अछामको मेल्लेख गाउँपालिकाका आठै वडाका दलित, विपन्न र असहाय ९६ परिवारको साझा खुसीको प्रतिबिम्ब हो । वर्षौंदेखि बाढी, पहिरो र प्राकृतिक विपद्को जोखिम झेल्दै आएका यी परिवारले अहिले सुरक्षित आश्रय पाएका हुन्।

संघीय अनुदानबापत गाउँपालिकाको ४ लाख र जोखिममा रहेका परिवारले जग्गासहित ४ लाख बराबरको श्रमदान गरी प्रतिघर ८ लाखको लागतमा आवास निर्माण गरिएका हुन् । पक्की दुई कोठे प्रत्येक घरमा शौचालय र भान्सा व्यवस्थित छ भने

जोखिमरहित स्थान छानी आठ वडाका आठ ठाउँमा नमुना बस्तीकै रूपमा निर्माण गरिएका घरहरू भूकम्प प्रतिराेधी समेत हुन् । करिब ८ करोडको यो परियोजनाले गरिबी र विपन्नतासँग संघर्ष गरिरहेका परिवारलाई ठूलो राहत दिएको छ ।

नयाँ बनेका यी घरहरूमा बिजुली जोडिएको भए पनि लाभग्राहीहरू सुरक्षित पिउने पानीको पहुँचमा भने छैनन् । सहज सडक पहुँच पनि नभएकाले पालिकाले बजेट व्यवस्थापन गरी आगामी दिनमा यी समस्याहरू समाधान गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।