नेपालगन्जको सद्भाव मोडेल देशभर लागू हुन सक्छ ?

श्रावण १५, २०८३ |दशरथ राई|रेजिना मल्ल
नेपालगन्जको सद्भाव मोडेल देशभर लागू हुन सक्छ ?

काठमाडौं । नेपालमा सामाजिक सद्भाव र एकता सधैँ अटुट छ । तर, कहिलेकाहीँ बुझाइ फरक पर्दा अविश्वास बढ्ने र हिंसा भड्किने पनि गरेको छ । 

दुर्भाग्य, अहिले सुनसरीसहित सिरहा, धनुषालगायत जिल्लामा सद्भाव बिथोलिएको जस्तो देखिएको छ । यसलाई कसरी समाधान गर्ने त ? शक्तिले सद्भाव आउँदैन । यसका लागि नागरिकस्तरबाटै सचेतना, समभाव र प्रेमभाव आवश्यक पर्छ । 

यस्तै फरक अभ्यास विगत दुई दशकदेखि नेपालगन्जमा हुँदै आएको छ । नेपालगन्जको अभ्यास अन्यत्र पनि स्थापना गर्न सके यो शान्तिको प्रस्थानबिन्दु बन्न सक्छ । सुनसरीमा आइतबार बेलुका भएको दुई समूहबीचको तनाव र त्यसपछि मधेस प्रदेशका विभिन्न स्थानमा भएका प्रदर्शनलाई सद्भाव, एकता र सुमधुरतामा बदल्न नागरिकस्तरबाटै सकिने विगतका उदाहरणहरूले देखाएका छन् । 

त्यसमध्येको एक हो- नेपालगन्जमा अपनाइएको सद्भाव समितिको अभ्यास ।

मन्दिरका महन्तसहित इस्लाम, बौद्ध, शिख र इसाई धर्मगुरु सम्मिलित ‘अन्तरधार्मिक तथा सामाजिक सद्भाव समिति’ले नेपालगन्जमा विगत लामो समयदेखि सामाजिक सद्भावलाई अविछिन्न बनाइराख्न भूमिका खेलिरहेको छ । समितिले जिल्ला प्रशासन र जिल्लाका सुरक्षा निकायहरूसँगको समन्वयमा विभिन्न धार्मिक समूहका पर्व मनाउने स्थान, समय र रूट तोक्ने गरेको छ । 

जसले विवाद हुनै नदिई समाजमा शान्ति कायम गर्न मद्दत गर्दै आएको छ । कर्फ्युका बेला पनि प्रशासनले यो समितिलाई सद्भाव कायम गर्न यात्राअनुमति दिनेजस्ता काम गर्दै आएको छ । कुनै समय सामाजिक द्वन्द्वको केन्द्रबिन्दुजस्तै बनेको थियो नेपालगन्ज सहर । 

२०५४ सालपछि त पटक पटक सद्भाव भड्काउने काम भएको छ । तर, २०६३ सालको दंगामा स्थिति कसैको काबुमा भएन । त्यतिबेलै प्रशासन र नागरिक समाजका सदस्यहरू मिलेर विभिन्न ५ धर्मगुरुलाई अन्तरधार्मिक सञ्जाल गठन गर्न आग्रह गरेका थिए । 

सञ्जालमा हिन्दूका तर्फबाट अध्यक्षमा चन्द्रनाथ योगी, मुस्लिमका तर्फबाट उपाध्यक्षमा मौलाना अब्दुल जब्बार मन्जरी, इसाईका तर्फबाट दिवंगत बेन्जामिनसहित बौद्ध र शिख धर्मका धर्मगुरुहरू सम्मिलित सञ्जाल बनाइएको थियो । त्यसपछि यसका सदस्यहरू एकअर्काको मोटरसाइकलमा बस्ने, सहरमा गस्ती गर्ने र सद्भावको सन्देश दिने गर्न थाले । 

धर्मगुरुहरू सँगै बस्दा, मानिलिऊँ कुनै भक्तले हिन्दू धर्मका गुरुलाई ढोग्दा छेउमै बसेका इस्लाम र इसाई धर्मका गुरुलाई पनि ढोग्नुपर्ने भयो । यसले प्रेम फक्रियो, सद्भाव सिर्जना गर्‍यो र एकता एकीकृत गर्‍यो । त्यसयता बेला बेला सद्भावको कडी टुट्न खोजे पनि समितिले सबैलाई एकढिक्का बनाउन निरन्तर काम गर्दै आएको छ ।

सद्भाव समितिका उपाध्यक्ष इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीको पनि प्रस्ट भनाइ छ- गुम्बाले कसैलाई क्षति गर्दैन, मस्जिदले कसैलाई क्षति गर्दैन, मन्दिरले कसैलाई दुःख दिँदैन । कसैको ज्यान गए नेपालीकै जान्छ । कसैको क्षति भए समग्र राष्ट्रकै क्षति हुन्छ । 

उहाँ एउटा शायरी उद्धृत गर्दै भन्नुहुन्छ- प्रेमलाई बुझ्नुछ भने प्रेम नै गरेर हेर्नुस् । किनारामा बसेर तूफानको अन्दाज हुँदैन । अर्थात् सद्भावको कति महत्त्व छ त्यो एकजुट भएपछि नै थाहा हुन्छ । पछिल्लो समय नागरिकस्तरीय सद्भाव समितिकै कारण शान्त बनेको छ नेपालगन्ज । 

नेपालगन्जको यो ढाँचा अहिले देशमा तनाव देखिएका स्थानमा पनि स्थापना गर्न सके यसले नागरिकस्तरमै समाधान खोज्नेमा द्विविधा छैन । अन्त्यमा धर्मगुरुहरूको एकमुस्ट सन्देश छ- हिन्दू, मुस्लिम, बौद्ध, शिख र इसाई, सबै हाम्रै दाजुभाइ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।

Image

रेजिना मल्ल

मल्ल कान्तिपुर टेलिभिजन बर्दियाकी क्यामेरा पर्सन हुन् ।