तिलौराकोटको विश्वसम्पदा यात्रा फेरि सुरु, अब २०२८ मा सूचीकृत हुने लक्ष्य

जेष्ठ २३, २०८३ |मनोज पौडेल
तिलौराकोटको विश्वसम्पदा यात्रा फेरि सुरु, अब २०२८ मा सूचीकृत हुने लक्ष्य

कपिलवस्तु । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रिया अघि बनाउने घोषणा गरेपछि यसको चर्चा फेरि सुरु भएको छ । 

भारतीय असहयोगका कारण २०२५ मा विश्वसम्पदास्थलमा सूचीकृत हुन नसकेको शाक्यवंशीय राजधानीलाई अब फेरि कसरी प्रक्रिया सुरु गरेर अघि बढाइन्छ भन्ने चासो बढेको छ । सरकारले एक दशकभन्दा लामो तयारी गरे पनि २०२५, जुलाई ६ देखि १६ मा फ्रान्सको पेरिसमा भएको युनेस्कोको ४७ औँ सेसनमा शाक्यवंशी राजा शुद्धोदनको राजधानी तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुन सकेन । 

तिलौराकोटलाई सम्पदा सूचीमा सूचीकृत गर्ने छलफलका लगि दुई वर्ष कुर्नुपर्ने भएको छ । किनभने २०२७ मा हुने ४९ औं सेसनमा छलफलका लागि स्टेट पार्टी सरकारले २०२६ फेब्रुअरी १ अघि नै प्रस्तावित मनोनयन दस्तावेज बुझाउनुपर्ने समयसीमा थियो । 

तर, नेपालले उक्त समयभित्र दस्तावेज दिन नसकेकाले २०२७ मा छलफल हुन नसक्ने भएको हो । २०२८ मा हुने ५० औं सेसनमा तिलौराकोटलाई सम्पदा सूचीमा सूचीकृत बनाउने गरी काम भइरहेको पुरातत्वविद्हरु बताउँछन् । ४७ औँ सेससमा भएको छलफलले तिलौराकोटलाई सम्पदास्थल बनाउन थप प्रमाण र अध्ययन अनुसन्धानका कागजात मागकाले त्यसैअनुसार काम भइरहेको छ । 

सेन्ट्रल वाल कम्पलेक्स-सिडब्लुसी नजिक अर्धवृत्ताकार बौद्ध मन्दिर भेटिएकाले २०२६ मा यसको उत्खनन् गरी ल्याब परीक्षणका लागि बेलायत पठाइएकोछ । त्यस्तै राजा शुद्धोदनका बेलाको आध्यात्मिक, धार्मिक र सांस्कृतिक गतिविधिका प्रमाण र राजकुमार सिद्धार्थको सम्बन्धका तथ्य पनि माग गरिएकोछ । 

बफरजोनसहितको पुरातात्विक रिस्क म्याप मागिएकोछ । त्यस्तै तिलौराकोटको हाइड्रोलोजिक सर्भे गरेर प्रस्तावित क्षेत्रलाई बाढी/पानीबाट सुरक्षित हुने गरि प्रत्याभूत गर्न सुझाव दिइएकोछ । सबै रिपोर्ट संकलन भएपछि युनेस्कोले मागेका र चासोका विषय सम्बोधन गरी रिभाइज नोमिनेसन डोसियर तयार हुनेछ । 

यसपछि मन्त्रिपरिषद्‌बाट निर्णय गरेर पुनः युनेस्को विश्वसम्पदा केन्द्रमा पठाइनेछ । रिभाइज नोमिनेसन डोसियर दिएपछि युनेस्कोका विशेषज्ञको मिसन टोली तिलौराकोट आएर अध्ययन गरी युनेस्कोको विश्वसम्पदा केन्द्रलाई प्रतिवेदन बुझाएपछि मनोनयन प्रक्रिया सुरु हुनेछ ।

पुरातत्वविद्हरुले तिलौराकोट दक्षिण एसियामा सबैभन्दा सुरक्षित, सग्लो र महत्वपूर्ण ऐतिहासिक सम्पदास्थल भएको बताइरहादा २०२५ को युनेस्को छलफलमा भारतले मताधिकार प्राप्त २१ मुलुकलाई लिखित पत्राचार गरेरै तिलौराकोटलाई विश्व सम्पदास्थल राख्न नहुने आसय व्यक्त गरेको थियो । 

त्यसकारण यस पटक राम्रो हेरिटेज कुटनीति प्रयोग गरेर तिलौराकोटलाई विश्व संपदास्थलमा सूचीकृत गराउन लाग्नुपर्ने देखिन्छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।