काठमाडौं नदीकिनारका विस्थापितहरू होटलमा आश्रित, बालबालिकाको पढाइ प्रभावित

वैशाख २१, २०८३ |प्रकाश बम
काठमाडौं नदीकिनारका विस्थापितहरू होटलमा आश्रित, बालबालिकाको पढाइ प्रभावित

काठमाडौं । काठमाडौंका नदीकिनारका अनधिकृत बस्ती खाली गराइएपछि त्यहाँबाट विस्थापितहरूलाई सरकारले विभिन्न होल्डिङ सेन्टर र होटलहरूमा राखेको छ । 

विस्थापितहरूलाई होटलमा राखिएकाहरूको अवस्था चाहिँ के छ त ? बुझ्न हामी सोमबार बालाजु पुग्यौं जहाँ सातवटा होटलमा दुईसय जना राखिएका छन् । ६ कक्षामा पढ्ने सोनिया राईलाई होटेलको साँघुरो कोठामा बस्न निकै कठिन भएको छ । 

घरि गुडियासँग खेल्छिन, घरी सिलिङ हेरेर टोलाउँछिन् । स्कुल जान नपाउँदा उनको छटपटी दैनिक बढ्दो छ । जडीबुटी क्षेत्रबाट हटाइएपछि सरकारले होटलमा ल्याएर राखेपछि खान-बस्न समस्या छैन । तर, सोनियाकी आमा प्रेमकला राईको चिन्ता दिनदिनै बढ्दो छ- छोराछोरी अब कहाँ पढ्लान् ? यिनीहरूको भविष्य अब के होला ?

सोनिया राईजस्ता बालबालिकाहरू होटलको साँघुरो कोठामा दिन बिताइरहेका छन् । स्कुल जान नपाउँदा उनीहरूको दैनिकी अस्तव्यस्त बनेको छ । अभिभावकहरू पनि छोराछोरीको पढाइ छुटेकोमा चिन्तित छन्। गीता परियारको पाँच जनाको परिवार पनि होटलमै बसिरहेको छ। 

उहाँका अनुसार खान र बस्न व्यवस्था भए पनि सबैभन्दा ठूलो समस्या बालबालिकाको पढाइ हो। उहाँकी छोरीको १२ कक्षाको परीक्षासमेत छुटेको छ। होटलमा बसिरहेका अधिकांशको अवस्था यस्तै छ । खान र बस्न पाए पनि मनमा बेचैनी र चिन्ता छ । 

उनीहरू भन्छन्- यसरी बसिरहन मन छैन । सरकारले दीर्घकालीन बसोबासको व्यवस्था गरिदिए हामी जान्थ्यौं । कतिपय भने होटलबाटै मजदुरी गर्न जान्छन् र साँझ परेपछि बासस्थानतिर फर्किन्छन् । केही नयाँ कोठा खोज्न निस्किन्छन्। तर, सुकुम्वासी बस्तीबाट आएको थाहा पाएपछि कोठा दिन तयार भएकाहरुले समेत अस्वीकार गर्ने गरेको गुनासो उनीहरूको छ ।

सरकारले थापाथली, सिनामंगल र जडीबुटी क्षेत्रबाट हटाइएका करिब दुईसय जनालाई बालाजुका सातवटा होटलमा राखेको छ। होटल व्यवसायीहरूका अनुसार हालसम्म करिब १२ लाख ५० हजार रुपैयाँ खर्च भइसकेको छ, तर भुक्तानी भने अझै प्राप्त भएको छैन ।

सरकारले बालाजु, नयाँ बसपार्क लगायत स्थानका होटलहरुमा विस्थापितलाई राखेको छ । तर, सहरी विकास मन्त्रालयले होटल व्यवसायीहरुसँग औपचारिक सम्झौता भने गरेको छैन ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।