
काठमाडौँ । सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएसँगै वर्षौंदेखि बस्दै आएको थलो धेरैले छाडेका छन् । र बस्तीसँगै छाडिएको छ- भावना, माया र आपसी सम्बन्ध ।
केही क्षण विश्राम लिएको चौतारोलाई त मानिसले फर्की फर्की हेर्छ भने वर्षौं बिताएको ठाउँ एक निमेषमै ढल्दा मुटु गाँठो नपर्ने कुरै भएन । राज्यका लागि यी बस्ती सरकारी जमिन हडपेर बनाइएका अनधिकृत संरचना हुन् तर कसैका लागि संसार नै थियो । मनोहराको बस्ती भत्कँदै गर्दा चिनी परियार निकै भावुक देखिनुहुन्थ्यो । १८-१९ वर्षदेखि यहीँ बसोबास गर्दै आउनुभएकी परियारको यो वस्तीमा सानो छाप्रो थियो । त्यो पनि छोराले विदेशबाट कमाएको पैसाले बनाएको । तर छोराको मिहिनेत सबै माटोमै मिलेको छ ।
अम्बरबहादुर मगर पनि आफ्ना सामान सुरक्षित स्थानमा सारेर बसिरहनुभएको थियो र हेर्दै हुनुहुन्थ्यो बस्ती उजाड भएको । वर्षौं ज्यामी काम गरेर जोडेको ओत सबै निमेषमै समाप्त हुँदा उहाँ पनि निकै नमीठो मानिराख्नुभएको थियो ।
कीर्तिपुरस्थित सत्संग भवनमा आश्रय लिइरहनुभएका डम्बरबहादुर तामाङ थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्नुहुन्थ्यो । मजदूरी गरेर जीवन चलाइरहुभएका उहाँ आफूले दुःखले किनेका सामानसमेत जोगाउन नपाएकोमा दुःखी हुनुहुन्छ । उहाँका मजदूरी गरेर खाने औजार र खाने सामान सबै डोजरले पुरिदिएको छ ।
कीर्तिपुरस्थित सत्संग भवनकै अर्को कुनामा देखिनुभएकी नीलम थापाको आँखा अझै ओभाएका छैनन् । वर्षौंदेखि जोडेको ओत राज्यको डोजरले एकै निमेषमा भत्काइदिएपछि उहाँ अहिले अन्योलमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ- बस्तीसँगै रोजगारीसमेत गुम्यो ।
वर्षौंदेखि बसोबास र लगानी गर्दै आएका बस्ती भत्किँदा वा छाडेर जानुपर्दा दु:ख त लाग्छ नै । तर अब राज्यले असली सुकुम्वासीको पहिचान गरी उनीहरूको खुसी फर्काउन सहयोग गर्नुपर्छ ।