
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा साइबर अपराध तीव्र गतिमा बढिरहेको बताउनुभएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उहाँले महिला र युवाहरू साइबर अपराधका घटनाबाट बढी प्रभावित भएको बताउनुभयो ।
तथ्यांकअनुसार ४ हजारभन्दा बढी सामाजिक सञ्जालको फेक अकाउन्टबाट घृणा फैलाउने सम्बन्धी तथा बुलिङ र हरासमेन्टका ३ हजारभन्दा बढी निवेदन प्रहरीमा दर्ता भएका छन् । सबैभन्दा बढी अकाउन्ट ह्याकिङ, अनलाइन ठगी, धम्कीजस्ता वित्तीय अपराधका १० हजारभन्दा बढी उजुरी प्रहरीकोमा परेको छ ।
महानिरीक्षक कार्कीले नेपालमा सञ्चालित रहेको सामाजिक सञ्जालका प्लेटफर्महरूमा नेपाल प्रहरीको प्रत्यक्ष नेटवर्क र कानुनी व्यवस्था पनि पर्याप्त नभएको बताउनुभयो । फेसबुक, इन्स्टाग्रामजस्ता प्लेटफर्मबाट विवरण लिन प्रहरीले व्यक्तिगत सम्बन्धको प्रयोग गर्नुपरेको उहाँको भनाइ छ । यस्तै अनुसन्धानको लागि सामाजिक सञ्जाल प्रयोगकर्ताको विवरण प्रहरीकोमा आउन २०–२५ दिन लाग्ने गरेको पनि उहाँको भनाइ छ ।
नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक दर्ता भएका तर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटा भने दर्ता नहुँदा प्रयोगकर्ताको विवरण र विवादास्पद सामग्री हटाउने प्रक्रिया जटिल बनेको छ । ह्वाट्सएप, डिस्कोर्ड, एक्स, स्न्यापच्याट, इमो, वीच्याट, रेडिट, युट्युब, जिमेल लगायतका प्लेटफर्मबाट प्रयोगकर्ता विवरण वा टेकडाउन सम्बन्धी प्रतिक्रिया नआउने समस्या रहेको उहाँले बताउनुभयो ।