आगजनीले ध्वस्त मन्त्रालय भवन पुनः सञ्चालनमा, बागमती सरकारद्वारा पुनर्निर्माण सम्पन्न

वैशाख ७, २०८३ |बालकृष्ण अधिकारी
आगजनीले ध्वस्त मन्त्रालय भवन पुनः सञ्चालनमा, बागमती सरकारद्वारा पुनर्निर्माण सम्पन्न

हटाैंडा । जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको बागमती प्रदेशका चारवटा मन्त्रालयको मर्मत गरेर हस्तान्तरण गरिएको छ ।

आन्दोलनका क्रममा हेटौंडामा रहेका भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशु विकास मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयका भवनमा ठूलो क्षति पुगेको थियो । उक्त भवन मर्मतपछि पुरानै अवस्थामा फर्काउन सफल भएको भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेशचन्द्र देवकोटाले बताउनुभयो ।

पुनर्निर्माण भएको उक्त भवनमा चार मन्त्रालय राख्ने गरी अघि बढेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । जेन-जी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त भएको उक्त भवनको पुनर्निर्माण गर्न १ करोड २८ लाख रुपैयाँ खर्च भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । 

अर्थ मन्त्रालयबाट प्राप्त ६ करोड ४३ लाख रुपैयाँको विशेष बजेटमार्फत टेन्डर आह्वान गरी केही क्षतिग्रस्त संरचनाहरुको मर्मत समेत गरिएको हो । जेन-जी आन्दोलनका क्रममा १ अर्ब ३५ करोड ३४ लाख ९२ हजार रुपैयाँको क्षति भएको थियो । 

भवनतर्फ ५८ करोड १५ लाख रुपैयाँ र सवारीसाधन तर्फ १४३ वटा मोटरसाइकल र ५६ वटा चार पांग्रे गाडीमा क्षति पुग्दा २४ करोड ७८ लाख रुपैयाँ र जिन्सी सामानहरुमा २७ करोड ३५ लाख रुपैयाँ क्षति भएको थियो ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।