
हेटाैंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले घरमै राहदानी लिन ईच्छुक सर्वसाधारणलाई बुधबारबाट हुलाक सेवामार्फत घरमा राहदानी पुर्याएको छ ।
हुलाक कार्यालय मकवानपुरले बुधबार हेटौंडा उपमहानगरपालिका-४ का २२ वर्षीय निश्चल मानन्धर र हेटौंडा ४ का सगुन नेपालको घरमै राहदानी बुझाएर यो अभियान सुरू गरेको हो। राहदानी बुझाउन हुलाकबाट हलकारा, कार्यालयका प्रमुख र जिल्ला प्रशासन कार्यालयका कर्मचारी सर्वसाधारणको घर पुगेका थिए।
सरकारले हुलाक सेवामार्फत सर्वसाधारणको घरमै राहदानी पुर्याउने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयको पहलमा अभियान थालिएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले राहदानी वितरण गर्न हुलाक कार्यालयलाई बुधबार ५० वटा राहदानी जिम्मा लगाएको छ।
सबै राहदानी बुधबारनै सर्वसाधारणको घरमा पुर्याइने जिल्ला हुलाक कार्यालय मकवानपुरका प्रमुख रमेश लामिछानले बताउनुभयो। सेवाग्राहीको समय र श्रम बचत गर्ने उद्देश्यसहित सुरु गरिएको यस पहलले राहदानी वितरण प्रक्रियालाई सहज र प्रभावकारी बनाएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो ।
पहिलो चरणमा हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र यो सेवा उपलब्ध गराइनेछ। लामो समयदेखि थन्किएका करिब ५ सय राहदानी हुलाकमार्फत पहिलो चरणमै वितरण गर्ने योजना छ। सर्वसाधारणलाई घरमै सेवा दिने योजनालाई दीर्घकालीन रुपमा विस्तार गर्दै भविष्यमा नागरिकता, राष्ट्रिय परिचयपत्र तथा सवारी चालक अनुमतिपत्र समेत घरमै उपलब्ध गराउने लक्ष्य प्रशासनको छ।