भक्तपुर । बिस्केट जात्राका अवसरमा मध्यपुर थिमिमा बुधबार सुथसिया अर्थात् सिन्दूरे जात्रा मनाइएको छ ।
मध्यपुर थिमिका बासिन्दाले २६ देवीदेवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई हर्षोल्लासका साथ सिन्दूर खेलेर जात्रा मनाएका हुन् । थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दूर दलेर धिमेलगायत बाजाका तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी भव्य रूपमा मनाउने परम्परा छ ।
विगतमा ३२ खट ल्याएर मनाउने परम्परा रहेकोमा केही वर्षयता भने २६ खटमात्रै जात्रामा सहभागी हुने गरेका छन् । यो जात्रामा बुधबार बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएका थियो । मंगलबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो ।
बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि पमाहरू हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो ।
यसैगरी विष्णुवीर, सिद्धिकालीलगायतका देवीदेवताहरूको खट ल्याएर यो जात्रा मनाइएको छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँया बाजा, भुस्या बाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दूर दल्ने र रमाइलो गर्ने भएकाले पनि यस सुथसिया जात्रालाई सिन्दूर जात्रा पनि भन्ने गरिएको छ ।
बिहानै सुरु भएको यो जात्रा मध्याह्नसम्म चल्नेछ भने त्यसपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ बजे बोडेमा जिब्रो छेडेर जात्रा मनाउने गरिन्छ ।