
धादिङ । सभामुख डोलप्रसाद अर्यालले संविधानले परिकल्पना गरेअनुसार कानुन निर्माण र संशाेधनलाई फास्ट ट्रयाकमा अगाडि बढाइने बताउनु भएको छ ।
धादिङको ज्वालामुखी गाउँपालिकालाई नेपालकै पहिलो नमुना र स्वच्छ गाउँ घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा सदरमुकाम धादिङबेसीमा पत्रकारसँग कुरा गर्दै सभामुख अर्यालले आज गरिने निर्णयले भोलिदेखि नै जनता लाभान्वित हुने गरी काम गर्न जरूरी रहेको बताउनु भएको हो ।
ढिलो गर्दा जनताले लाभ पाउन ढिला हुने भन्दै उहाँले विकास, समृद्धि र खुसी एकदिन पनि ढिला नगरिकन उपलब्ध गराउनु पर्ने बताउनुभयो । सभामुख अर्यालले व्यवस्थापिकाका तर्फबाट कार्यपालिका र तीनै तहको सरकारसँग समन्वय गर्ने, तीनै तहको कानुन नवाझिने गरी एक अर्कासँग समन्वय गरी काम गर्ने वातावरण निर्माण गर्ने पनि बताउनु भयो ।
उहाँले देशमा प्रणालीकै सुधार गर्नुपर्ने भएकाले सकारात्मक सोच राखेर काम गर्न सबैलाई आग्रह समेत गर्नु भयो । सभामुख अर्यालले जिल्लाको भविष्य र राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको बुढी गण्डकी आयोजनाको काम अब छिट्टै सुरु हुने पनि बताउनुभयो ।