
गोरखा । चैतमा गोरु बेचेर पाखी किन्नु भन्ने बुढापाकाको भनाइ थियो । तर, गोरखाको तल्लो हिमाली र उच्च पहाडी भेगमा आजभोलि भेडापालन घटेसँगै ऊनबाट बन्ने राडी, पाखी र बख्खु लोप हुने अवस्थामा पुगेको छ ।
गोरखाको बारपाक सुलिकोट, अजिरकोट, धार्चे र चुमनुब्री गाउँपालिकाका विभिन्न स्थानमा भेडापालन हुने गरेको छ । भेडाबाट मासु र दूधको उपयोग त हुन्छ नै स्थानीयले चिसोबाट बच्न भेडाको ऊनबाट बनेको राडीपाखी र बख्खु ओढ्ने गर्दछन् । भेडापालन घटेपछि ऊनबाट बन्ने राडीपाखी र बख्खु बुन्ने काम पनि मासिने अवस्थामा पुगेको छ ।
भेडापालन गर्नेको संख्या घटेकाले ऊनको अभाव त छँदैछ । त्यस्तै गाउँघरमा समेत बजारबाट किनेको सिरक, ब्ल्याङकेट ओढ्ने र ज्याकेट लगाउने चलनले पनि बख्खु र राडीपाखी बुन्ने काम नै संकटमा पर्न थालेको छ । भेडाको कच्चा ऊनलाई धोएर सरसफाइ गरेपछि कोरेर निकालिएको राम्रो ऊनबाट धागो बनाउने गर्दछ ।
धागोलाई तानको सहायताले बुनेर राडीपाखी र बख्खु बनाइन्छ । बर्खामा पानी छेक्न र हिउँद न्यानो लागि ओढ्ने मिल्ने एउटा बख्खुको मूल्य १५ देखि २५ हजार रूपैयाँसम्म पर्दछ ।