
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले मन्त्रिपरिषद्मा दुई नयाँ मन्त्री पठाउने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद मनिष झाले यसबारे जानकारी गराउनुभएको हो । बैठकले रिक्त रहेका दुई मन्त्रालयका लागि मन्त्रीहरूको नाम समेत टुङ्गो लगाएको हो । श्रम मन्त्रीका रूपमा सप्तरीका रामजी यादव र उद्योग मन्त्रीका रूपमा महोत्तरीकी गौरीकुमारी यादवलाई मनोनयन गरिएको छ ।
उहाँहरूको सपथ ग्रहण शुक्रबार साँझसम्म हुने सम्भावना रहेको झाले जानकारी दिनुभयो । यस निर्णयसँगै मन्त्रिपरिषद्मा महिलाको उपस्थिति करिब ४० प्रतिशत पुग्ने र मधेश प्रदेशको प्रतिनिधित्व समेत बलियो हुने रास्वपाको दाबी छ । बैठकले मन्त्रालयहरूमा पार्टीका कार्यकर्ता र सांसदहरूको अनावश्यक भिडभाड नगर्न निर्देशन दिएको छ ।
साथै, शक्रबारदेखि पार्टीको केन्द्रीय कार्यालयमा जनसम्पर्कका लागि दैनिक एक जना केन्द्रीय सदस्य र एक जना सांसद अनिवार्य उपस्थित हुने ‘क्यालेन्डर’ सुरु गरिएको छ । संसद्को २० दिने ‘सेसन ब्रेक’ सुरु हुन लागेकाले यस अवधिमा सांसदहरूलाई जिल्ला समन्वय र साङ्गठनिक सुदृढीकरणमा लाग्न समेत आग्रह गरिएको छ ।
बैठकले उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । उहाँलाई समर्थन गर्न पार्टी सभापति र संसदीय दलको नेताले संयुक्त रूपमा निर्देशन दिनुभएको झाले बताउनु भयो ।
राप्रपाका उम्मेदवारलाई सहयोग गर्ने विषयमा भएको भनिएको सहमति र ‘धोका’ को चर्चाबारे सोधिएको प्रश्नमा झाले आफूलाई त्यस्तो कुनै संवादबारे जानकारी नभएको बताउनु भयो । उहाँले पार्टीमा यसबारे कुनै एजेन्डा वा छलफल नभएको स्पष्ट पार्नुभयो ।