
सुनसरी । कोशी प्रदेशमा पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले सवारी दुर्घटना नियन्त्रणभन्दा बाहिर जान थालेको देखाएको छ । दुर्घटनाको सङ्ख्या, मृत्यु र घाइते हुने दर वर्षेनी बढ्दै जाँदा सम्बन्धित निकायबीच समन्वय अभाव प्रमुख चुनौती बनेको छ ।
कोशी प्रदेशमा आर्थिक वर्ष २०७९- ८० मा ३ हजार ४ सय ६३ दुर्घटना हुँदा ३ सय ७१ जनाको मृत्यु भयो भने २ सय ५८ जना गम्भीर र ५ हजार ७५० जना सामान्य घाइते भए । आर्थिक वर्ष २०८०÷८१ मा दुर्घटनाको संख्या बढेर ४ हजार ६ सय २६ पुग्यो ।
जुन अघिल्लो वर्षको तुलनामा करिब १ हजार १ सय ६३ ले बढी हो । त्यस वर्ष ४ सय ५२ जनाको मृत्यु, ३ सय ७१ गम्भीर घाइते र ५ हजार ८३० सामान्य घाइते भए ।
चालु आर्थिक वर्षको फागुन महिनासम्म ४ हजार २ सय ९० दुर्घटना भइसकेका छन् । यस अवधिमा ३ सय ८ जनाको मृत्यु, ४ सय ७५ गम्भीर घाइते र ६ हजार ४ सय ५५ सामान्य घाइते भएका छन् ।
दुर्घटनामा केही कमी देखिए पनि घाइतेको संख्या बढ्नुले जोखिम अझै उच्च रहेको यातायत व्यवसायी राष्ट्रिय महासंघ, कोशी प्रदेश, संयोजक सरोज श्रेष्ठले बताउनुभयो ।
दुर्घटनामा मोटरसाइकल सबैभन्दा धेरै परेका छन् । त्यसपछि कार, बस, ट्रक÷ट्यांकर, जीप तथा माइक्रोबस छन् । तर दुर्घटना न्यूनीकरणमा मुख्य समस्या सरोकारवालाबीचको समन्वय अभाव देखिएको छ ।
सडक निर्माण तथा मर्मतको जिम्मा लिने सडक विभाग, विद्युतीय संरचना व्यवस्थापन गर्ने विद्युत प्राधिकरण, सञ्चार पूर्वाधार हेर्ने नेपाल टेलिकम, खानेपानी आयोजना तथा स्थानीय तहबीच आवश्यक समन्वय नहुँदा सडक जोखिमपूर्ण बन्ने गरेको कोशी प्रदेश, ट्राफिक प्रहरी कार्यालय बताँउछ ।
दुर्घटना न्यूनीकरण गर्ने काम ट्राफिक प्रहरीको मात्र हो भन्ने बुझाइ छ । दुर्घटना न्यूनीकरणका लागि लागू गरिएका नियमको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । साथै, ट्राफिक प्रहरी आफै पनि जनशक्ति र बजेट अभाव झेल्दै आएको छ, जसले प्रभावकारी अनुगमन र नियन्त्रणमा चुनौती थपेको छ ।
ट्राफिक प्रहरीले नियमित जाँच, सचेतना अभियान र कडाइका साथ कारबाही गरिरहे पनि दीर्घकालीन समाधानका लागि सबै सरोकारवालाबीच समन्वय, पूर्वाधार सुधार र नियमको कडाइका साथ पालना अपरिहार्य देखिएको छ । सडक सुरक्षा बहुपक्षीय विषय भएकाले सबै निकायको समान जिम्मेवारी आवश्यक छ ।