पूर्व सभामुख महरा विरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्व सभामुख महरा विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं । विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर भएको छ ।

चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सभामुख महरा र सहसचिव पोखरेल तथा महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर करिब ७ करोड रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको हो । 

२०७९ पुसमा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको आरोप अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ । 

तस्करीमा संलग्न चिनियाँ गिरोहले २०७९ पुस १० गते दुबईबाट भेपको आवरणमा भित्र्याएको सुनको सेटिङ बाहिरिएपछि तस्करीको नयाँ धन्दाबारे खुलेको थियो । तस्करले ७३ वटा बट्टामा ७३० वटा भेपमा लुकाएर तस्करले दुबईबाट त्रिभुवन विमानस्थल हुँदै भन्सार गोदामसम्म सुन ल्याएका थिए । त्यसबेलै अनुसन्धानका क्रममा सुन करिब ९ केजी रहेको खुलेपनि बीचमै चोरी भएपछि यो विषय थप रहस्यमय बनेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.