
इलाम । लोपोन्मुख वन्यजन्तु रेडपान्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सन्दकपुरमा तेस्रो संस्करणको 'रेडपान्डा महोत्सव' आयोजना भएको छ ।
महोत्सवमा नेपाल र भारतका जैविक विविधता संरक्षण र पर्यटन विकासमा काम गर्दै आएकाहरूले आ-आफ्ना अनुभव आदान प्रदान गरेका छन् । सन्दकपुर गाउँपालिकाको आयोजनामा सन्दकपुर-४ कालपोखरीमा सम्पन्न महोत्सवमा वन, वन्यजन्तु र प्राकृतिक वातावरणको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने खालका कार्यक्रमहरू आयोजना गरियो ।
समूहगत छलफल, वक्तृत्वकला प्रतियोगितासहित संरक्षण र पर्यटनमा सघाउ पुर्याउने विभिन्न स्टलहरू महोत्सवको आर्कषण बन्यो । त्यसैगरी विभिन्न जातजातिको झाँकी र रमणीय स्थलहरूको भ्रमणले आगन्तुकलाई थप उत्साहित बनायो । आसपासको जंगलमा रेडपान्डा दृष्यावलोकन गर्ने कार्यक्रमसमेत राखिएको थियो ।
कार्यक्रमले सन्दकपुरको मात्र नभइ, समग्र जिल्लाको पर्यटन विकासमा थप टेवा पुर्याउने विश्वास आयोजकको छ । कोशी प्रदेशका पर्यटन वन तथा वातावरणमन्त्री भीम पराजुलीले उद्घाटन गरेको कार्यक्रममा प्रदेश सभासदहरू, खिनु लंङवा, बन्दना अधिकारी, इलामका विभिन्न पालिका प्रमुख, जिसस प्रमुखलगायतले सन्दकपुर क्षेत्रको संरक्षण र विकासमा स्थानीय पालिकासँग सहकार्य गर्दै काम गर्न सकिने प्रतिबद्धता जनाए ।
चार दिनसम्म चलेको महोत्सवमा सिमसार, पोखरीहरू, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथासहित कञ्चनजंघा, कुम्भकर्णलगायतका विभिन्न हिमशृफ्खला, सयौं प्रजातिका चरा, रेडपान्डासहितका लोपोन्मुख वन्यजन्तुको अध्ययनसँगै पदयात्रा गरिएको थियो ।
जैविक, धार्मिक, सांस्कृतिक महत्वले भरिएको सन्दकपुर क्षेत्रको जैविक विविधता जोगाउँदै पर्यटन विकासका लागि यसअघि पदयात्रामा आधारित दुईवटा महोत्सव सम्पन्न भएका थिए । सन्दकपुरमा रेडपान्डा हेर्नकै लागि पर्यटकहरू पुग्ने गरेका छन् । रेडपान्डा भुटान, चीन, भारत, म्यानमार र नेपालमा मात्र पाइन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनले रेडपान्डालाई संरक्षित प्रजातिमा सूचीकृत गरेको छ । रेडपान्डा नेपालको इलामसहित २५ जिल्लामा पाइन्छ ।