नेपाल मिडिया सोसाइटीबाट अलग भयाे कान्तिपुर मिडिया ग्रुप

चैत्र २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल मिडिया सोसाइटीबाट अलग भयाे कान्तिपुर मिडिया ग्रुप

काठमाडौं । कान्तिपुर मिडिया ग्रुप (केएमजी) नेपाल मिडिया सोसाइटीबाट अलग भएको छ । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले सोसाइटीसँगको आबद्धता अन्त्य गर्ने निर्णय लिनुभएको हो । केएमजीले २०८२ चैत २४ गतेदेखि लागू हुने गरी सोसाइटीको सदस्यता त्याग गरेको जनाएको छ । सोसाइटीका संस्थापक सदस्यका रूपमा आबद्ध रहँदै आएको केएमजीले पछिल्लो समय सोसाइटीबाट भएका केही निर्णयप्रति असहमति जनाउँदै सदस्यका रूपमा निरन्तर रहन नसकिने निष्कर्षमा पुगेको हो । 

'सरकारी विज्ञापन निजी क्षेत्रका सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरूद्ध मिडिया सोसाइटीले मुद्दा हाल्ने जुन निर्णय गर्‍यो, त्यसमा प्रत्यक्ष असहमति रहेको प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले बताउनुभयो । केएमजीको सहमति नहुँदा नहुँदै पनि संस्थाले मुद्दा हाल्ने प्रक्रिया अगाडि बढाएपछि, त्यस्तो अवस्थामा संस्थामा बसिरहनु भन्दा बाहिरिनु नै सही हुन्छ भन्ने ठानेर संस्थागत र व्यक्तिगत रूपमा राजीनामा दिएको उहाँले राजीनामा पत्रमा लेख्नु भएको छ ।

सरकारले गत १८ गते सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन/प्रसारण गर्न भन्दै परिपत्र जारी गरेको थियो । यस विषयप्रति मिडिया सोसाइटीले असहमति जनाउँदै विरोध गरेको थियो । त्यस्तै, सिइओ स्वाँरले सोही पत्रमार्फत सोसाइटीको कार्यसमिति उपाध्यक्ष पदबाट समेत राजीनामा दिएको उल्लेख गर्नुभएको छ । 

केएमजी अन्तर्गतका कान्तिपुर पब्लिकेशन्स लिमिटेड र कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड सोसाइटीका संस्थापक सदस्य थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.