
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँग छलफल गर्नुभएको छ ।
शाह नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गर्नुभएको हो । मध्याह्न सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनालसहित राजदूतहरूसँग प्रधानमन्त्री शाहले छलफल गर्नुभयो । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
छलफलमा सहभागी राजदूतहरूले नेपालको नयाँ सरकारको कार्यदिशा र प्राथमिकताका बारेमा चासो राखेका थिए । प्रधानमन्त्री शाहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।