
काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरूङले वर्षायाममा बीपी राजमार्ग पटक पटक अवरूद्ध हुने समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न निर्माण तथा मर्मत कार्यलाई प्रभावकारी, सुरक्षित र दिगो बनाउने गरी अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएकाे छ।
राजमार्गअन्तर्गत पर्ने चारसयबेँसी क्षेत्रमा सञ्चालनमा रहेका खानी तथा क्रसर उद्योगहरूको स्थलगत अवलोकनपछि सञ्चारकर्मीको जिज्ञासाको उत्तर दिनुहुँदै मन्त्री गुरूङले बर्खाको समयमा सवारी आवागमन नरोकिने गरी पूर्वतयारी गर्न आवश्यक रहेको बताउनुभएकाे हाे । उहाँले सडक निर्माणको डिजाइन, प्रविधि र कार्यान्वयन पक्षलाई थप सुधार गर्दै जोखिमयुक्त स्थानहरूको पहिचान गरी समयमै समाधान गर्नुपर्नेमा जोड दिनुभयाे।
“हरेक वर्ष वर्षायाममा नागरिकले भोग्दै आएको सास्ती अन्त्य हुनुपर्छ,” भन्दै उहाँले जोखिम न्यूनीकरण, वैकल्पिक मार्ग व्यवस्थापन तथा आपतकालीन प्रतिक्रिया संयन्त्रलाई मजबुत बनाउन निर्देशन दिनुभयाे। मन्त्री गुरूङले सम्भावित पहिरो, बाढी तथा अन्य विपद्का कारण सडक अवरुद्ध भएमा तत्काल उद्धार तथा राहतका लागि आवश्यक तयारी अवस्थामा रहन पनि निर्देशन दिनुभयाे।
आकस्मिक अवस्थामा हवाई उद्धार गर्न सकिने गरी हेलिकोप्टर अवतरणका लागि उपयुक्त स्थानहरूको पहिचान तथा व्यवस्थापन गर्न समेत उहाँले सम्बन्धित निकायलाई सचेत गराउनुभयाे। यसै सन्दर्भमा मन्त्री गुरूङले चारसयबेँसी क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेका खानी तथा क्रसर उद्योगप्रति कडाइ गर्न निर्देशन दिनुभयाे।
उहाँले प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई त्यस्ता उद्योगहरूको दैनिक अनुगमन गर्न, वातावरणीय मापदण्ड विपरीत सञ्चालन भएका तथा नागरिक जीवनमा प्रत्यक्ष असर पुर्याउने उद्योग तत्काल बन्द गराउन र त्यसको नियमित प्रतिवेदन गृह मन्त्रालयमा पेस गर्न निर्देशन दिनुभयाे।
“विकास निर्माणका कामले नागरिकलाई सुविधा दिनुपर्छ, सास्ती होइन,” भन्दै मन्त्री गुरूङले कानुनी मापदण्ड विपरीत सञ्चालन हुने कुनै पनि गतिविधिलाई सहन नहुने स्पष्ट पार्नुभयाे । सरकारले नागरिकको सुरक्षा, सहज आवागमन र दिगो पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री गुरूङले जोखिमयुक्त क्षेत्रहरूको पहिचान, पूर्वतयारी र प्रभावकारी समन्वयमार्फत समस्याको स्थायी समाधानतर्फ सरकार प्रतिबद्ध रहेको बताउनुभयाे ।