
विराटनगर । कोशी प्रदेशसभाको आइतबार बसेको बैठकमा बोल्ने प्रदेश सभा सदस्यहरूले निर्धारित समयमा सभा सञ्चालन हुन नसकेको बताएका छन् ।
कोशी प्रदेश सभाको विशेष समयमा बोल्दै जनता समाजवादी पार्टी कोशी प्रदेश सभा संसदीय दलको तर्फबाट निर्मला लिम्बूले कोशी प्रदेश सभा कहिले पनि निर्धारित समयमा सञ्चालन हुन नसक्दा यसको दोषी सरकार वा सभामुख को हो भनी प्रश्न गर्नुभएको थियो ।
सभा एक बजे बस्ने भनेर सूचना प्रकाशन गर्ने तर तीन बज्दासमेत सञ्चालन नहुँदा दोष कसको भनी प्रतिप्रश्न गर्नुभयो । विशेष समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको तर्फबाट रामबहादुर राणा मगरले प्राकृतिक विपत्तिबाट पूर्वी नेपालको इलाममा धेरै क्षति भएको बताउनु भयो।
उहाँले गत वर्षमा बाढी पहिरोबाट इलाममा भौतिक संरचनामा अत्यधिक क्षति भएको जानकारी दिँदै यसवर्ष मनसुनमा सो जिल्लामा थप क्षति हुन नदिन भौतिक संरचनाको निर्माणमा बजेट विनियोजनको माग गर्नु भयो । उहाँले इलाममा पुल र सडकको मात्र करिब रू तीन अर्ब २७ करोड र खानेपानीको क्षेत्रमा करिब रू ५० करोडको क्षति भएको बताउनुभयो ।
उहाँले लोकतन्त्रलाई धरापमा पर्न नदिन र संविधानलाई कमजोर बनाउने कार्यमा संघीय सरकार सचेत भएर काम गर्नु पर्ने सुझाव दिनुभयो । सोही समयमा कोशी प्रदेश सभा सदस्य जयप्रकाश चौधरीले कोशी प्रदेशमा आदिवासी र जनजातिको बाहुल्यता रहेकाले ग्रामथान संरक्षण हुनु पर्ने माग गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश सभा संसदीय दलको तर्फबाट गोपालबहादुर विश्वकर्माले नेपालमा दलित र जनजाति लामोसमयदेखि विभेद र उत्पीडनमा परेकाले उनीहरुको सम्मान र उत्थानमा सरकार गम्भीर हुनु पर्ने कुरामा जोड दिनुभयो ।भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका मन्त्री प्रदीपकुमार सुनुवारले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले निर्माणको काम गर्न कठिनाइ भएको बताउनु भयो ।
सभाको अर्को बैठक सोमबार एक बजे बस्नेछ ।