
भक्तपुर । एतिहासिक एवं साँस्कृतिक महत्व बाेकेको भक्तपुरको बिस्का जात्राकाे तयारी तिव्र पारिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार सम्बन्धित निकायसँग भएको बैठकमा जात्रा अवधिभर मादकपदार्थ बिक्रिवितरण तथा ओसारपसारमा समेत रोक लगाउने निर्णय गरेको छ । बिस्का जात्राका क्रममा हुलदंगा तथा झैझगडा गरेमा जात्रा अवधिभर नै हिरासतमा राखेर मुद्दा चलाउने तथा विदेश जान नपाउने गरी प्रहरी रिपोर्टमा हुलदंगा गरेको रिकर्ड समावेश हुने प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाले बताउनु भयो ।
जात्राका लागि आवश्यक समाग्री, शान्ति सुरक्षा, प्राथमिक उपचारदेखि एम्बुलेन्स तथा दमकल तयारी अवस्थामा राख्न निर्देशन समेत दिइएको छ । जात्रा स्थल वरपर ३६ वटा सीसी क्यामेरा तथा तीनवटा ड्रोन क्यामेराले समेत निगरानी गरिने भक्तपुर प्रहरी प्ररिसरका प्रमुख एसपी सुर्यबहादुर खड्काले बताउनुभयो ।
जात्रा अवधिभर दुई हजार प्रहरीहरू परिचालन गरिने समेत उहाँको भनाइ छ । बिस्का जात्रा यहि चैत २७ गते देखि वैशाख ५ गतेसम्म सञ्चालन हुने छ । बिस्का जात्रा ८ रात ९ दिनसम्म मनाइन्छ । जात्राका लागि तीन तले भैरवनाथको रथ तयार हुँदैछ ।