लुम्बिनी प्रदेश सभा बैठकमा दुई विधेयक पेस

संघीय सरकारले प्रतिशोधपूर्ण व्यवहार देखाएको भन्दै कडा विरोध र खबरदारी
चैत्र २२, २०८२ |अमर क्षितिज भण्डारी
लुम्बिनी प्रदेश सभा बैठकमा दुई विधेयक पेस

दाङ । दुई महिनापछि आइतबार बसेको लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पाँचौं बैठकमा दुई विधेयक पेस भएका छन् । 

गत माघ २० गते यता स्थगित भइ सुरू भएको आइतबारको बैठकमा उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक र मुख्यमन्त्री चेतनारायण आचार्यले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभामा पेस गर्नु भएको हो ।

सभामा पेस भएका उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको सभामुख तुलाराम घर्तीमगरले बैठकलाई जानकारी गराउनु भयाे । यसअघि समसामयिक विषयमा बोल्दै केही प्रदेशसभा सदस्यहरूले जनताका सवालमा सरकारको ध्यानाकर्षण गराए भने केही प्रदेशसभा सदस्यहरूले संघीय सरकारले प्रतिशोधपूर्ण व्यवहार देखाएको भन्दै कडा विरोध र खबरदारी गरेका छन् ।

बैठकमा बोल्दै प्रदेश सभा सदस्य रत्नबहादुर खत्री, विष्णुप्रसाद पन्थी भण्डारीलाल अहिर, हेमा बेल्बासेलगायतका प्रदेशसभा सदस्यहरूले वर्तमान परिस्थितिलाई ऐतिहासिक मोडको रूपमा चित्रण गर्दै राष्ट्रियता र सार्वभौमसत्तामाथि प्रहार भइरहेको आरोप लगाए । 

उनीहरुले भदौ २३ र २४ गतेका आन्दोलनलाई सही रूपमा नबुझिए मुलुक पुनः अस्थिरतातर्फ धकेलिने चेतावनी समेत दिए । संसद् भवनमा आगजनीजस्ता घटना आधुनिक सभ्य समाजका लागि अस्वीकार्य रहेको उल्लेख गर्दै उनीहरुले यस्ता घटनामा संलग्न व्यक्तिहरूको पहिचान र उद्देश्यबारे गम्भीर प्रश्न उठाए ।

त्यसैगरी प्रदेश सभा सदस्य अनुराग खड्का, चन्दकेश गुप्ता, बसिउद्दिन खाँ, मिनाकुमारी श्रेष्ठ, दिपेन्द्र पुनले बजेट कार्यान्वयनमा कमजोरी भएको, शिक्षामा पहुँच विस्तार गर्न र छुटेका योजनाहरू कार्यान्वयनमा ल्याउन र हावाहुरीका कारण आगलागीको जोखिम बढेको भन्दै दमकल व्यवस्थापनमा ध्यान दिन सरकारसँग माग गरे । 

उनीहरुले प्रदेश सरकारले गरेका कामको प्रभावकारी रूपमा प्रचार–प्रसार गर्न नसकिएको पनि बताए । प्रदेश सभाको सातौं अधिवेशनको छैठौं बैठक चैत २३ गते सोमबार दिउँसो १ बजे बस्ने छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।