धनुषाबाट ४० हजार रूपैयाँ घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२ |अमरकान्त ठाकुर
धनुषाबाट ४० हजार रूपैयाँ घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

जनकपुरधाम । धनुषाको लालगढबाट ४० हजार घुससहित सशस्त्र प्रहरीका एक प्रहरी निरीक्षक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा प्रहरी निरीक्षक वकिल अधिकारी छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई शुक्रबार बिहान लालगढबाटै पक्राउ गरेको हो ।

अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग खटिएका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक वकिल अधिकारीले विभिन्न बहाना बनाएर निर्माण कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने तथा काममा निरन्तर दु:ख–हैरानी दिने गरेका थिए । 

त्यसबापत घुस लिइरहेको अवस्थामा ४० हजार रूपैयाँ घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।