वैदेशिक रोजगारीमा जाने श्रमिकले सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट परीक्षण गर्न सक्ने

‘सिन्डिकेट’ काे अन्त्य
चैत्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
वैदेशिक रोजगारीमा जाने श्रमिकले सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट परीक्षण गर्न सक्ने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण केही निश्चित स्वास्थ्य संस्थाबाटै हुँदै आएकोमा उक्त बाध्यात्मक अवस्था अन्त्य गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अबदेखि श्रमिकले सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका जुनसुकै स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्य परीक्षण गराउन पाउने गरी यसअघिको ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य परीक्षणका लागि थप अस्पताललाई अनुमति दिने प्रक्रिया अघि बढाइएको जनाउँदै मन्त्रालयले इच्छुक स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा गरी सूचीकृत हुन सक्ने पनि प्रष्ट पारेको छ । श्रम मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वैदेशिक रोजगारी ऐन, २०६४ र नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार श्रमिकले विदेश जानुअघि स्वीकृत स्वास्थ्य संस्थाबाट परीक्षण गराउनुपर्ने प्रावधान रहेको उल्लेख गर्दै सरकारबाट स्वीकृत प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट परीक्षण गराउन सकिने जनाएको छ ।

खाडीका तथा मलेसिया लगायतका देशमा जाने नेपाली श्रमिकले यसअघि सीमित स्वास्थ्य संस्थामार्फत मात्रै परीक्षण गराउनुपर्ने वाध्यता थियो । जसका कारण स्वास्थ्य परीक्षणका नाममा ठगी मौलाएको गुनासो श्रमिकहरूले नै गर्दै आएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.