
धादिङ । नागढुंगा–सिस्नेखोला सुरूङमार्ग सञ्चालनको जिम्मा चिनियाँ कम्पनीले पाएको छ ।
सेवाप्रदायक छनोटका लागि आर्थिक मूल्यांकनको प्रतिस्पर्धामा रहेका सात कम्पनीमध्ये नेपाली कम्पनी जोइन्ट भेन्चर रहेको युसिन–एआरटी जेभीले सञ्चालनको जिम्मा पाएको हो । युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हो ।
अहिले छानिएको सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल उठाउने, समग्र सुरूङ र २.८ किलोमिटरको काठमाडौं र धादिङ दुवैतिर जोड्ने पहुँच सडकको रेखदेख गर्नुपर्नेछ । यस्तै पाँच वर्षभर चौबिसै घण्टा र ३ सय ६५ दिन नै सुरूङ सञ्चालन गर्नुपर्दछ ।
सञ्चालन गर्न लाग्ने लागत सरकारले बेहोर्नेछ भने सेवा प्रदायक कम्पनीले उठेको टोल रकम प्रत्येक दिन सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ । सुरूङ निर्माणमा अहिले जापानको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रूपैयाँ लगानी छ ।
अहिलेसम्म सुरूङ निर्माणको काम ९८ प्रतिशत सकिइसकेको छ । अहिले धादिङतर्फ पहिरो व्यवस्थापनको काम भइरहेको छ भने आगामी वैशाख १२ गतेको म्यादभित्रै सबै काम सकिइसक्ने आयोजनाको दाबी छ । सुरूङ प्रयोग गरेबापत कार र भ्यानलाई काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रूपैयाँ शुल्क लाग्छ ।
त्यस्तै मिनी बस–ट्रक र टिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रूपैयाँ शुल्क तोकिएको छ । बस, ट्रकले सुरूङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र बाहिरिँदा २ सय रूपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्तै ठूला ट्रक र हेभी सवारी साधनले भने उपत्यका भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रूपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।
सुरुङमार्गमा पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे र नन मोटोराइज्ड सवारीले प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरूङमार्गमा निषेध गरिनेछ ।