बेटिङ एप र वेबसाइट २४ घन्टाभित्र बन्द गर्न प्राधिकरणलाई निर्देशन

चैत्र १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
बेटिङ एप र वेबसाइट २४ घन्टाभित्र बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घन्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा आइतबार मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरूसहित बसेको बैठकमा मन्त्री तिमिल्सिनाले बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिनुभएको हो । 

यो निर्देशनसँगै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया सुरू भएको छ । बेटिङ बन्दका लागि ‘अपरेटर्स’हरूलाई निर्देशन दिएर बन्द कार्य सुरू भइसकेको प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौड्यालले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो । 

त्यसलगत्तै सञ्चारमन्त्री डा. तिमिल्सिनाले मन्त्रालय र सम्बद्ध निकायसँग छलफल गरी तत्कालै ‘एक्सन’ लिनुभएको छ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत सरकारले देशभित्र सञ्चालित सबै सट्टेबाजी एप र वेबसाइटलाई २४ घन्टाभित्रै पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो ।

अवैध आर्थिक कारोबार र पुँजी पलायनलाई रोक्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको जनाइएको छ । कार्यसूचीको ४२ नम्बर बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजी एप (बेटिङ एप) र त्यससम्बन्धी वेबसाइट २४ घन्टाभित्र बन्द गर्न निर्देशन दिइएको छ ।

बैठकमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले मन्त्रालयले जनतालाई तत्कालै प्रदान गर्न सकिने सेवाबारे कार्ययोजना पेस गर्न महाशाखा प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले ‘डिजिटल शासन र डेटा गभर्नेन्स’मा फोकस भएर समन्वयात्मक पद्दतिबाट जनताले प्रत्यक्ष लाभ पाउनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले गर्ने कामको दैनिक रिपोर्टिङ र समीक्षा गर्ने तथा मासिक रुपमा मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयलाई रिपोर्टिङ गर्ने प्रणालीको विकास गरिने उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.