नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

चैत्र १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले विपद्का कारणले कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

आइतबार प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरूङले आउँदो मनसुनमा विपद्को कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्नेगरी पूर्वतयारी गर्न निर्देशन दिनुभएको हो । उहाँले विगतमा विपद् पूर्वतयारी र प्रतिकार्य समयमै नहुँदा नागरिकले अकालमै ज्यान गुमाउनुपरेको भन्दै अब उप्रान्त यस्तो हुन नदिइने बताउनु भयो । 

उहाँले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पाठ्यक्रममै व्यावहारिक शिक्षा समावेश गर्नका लागि शिक्षा मन्त्रालयमा प्रस्ताव पेस गर्न समेत प्राधिकरणलाई निर्देशन दिएको बताउनु भयो । उहाँले नेपालमा भूकम्प, बाढीपहिरो लगायतका विपद् बारम्बार दोहोरिने भएकाले तयारीमा हुने ढिलाइलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विपद् जोखिमयुक्त क्षेत्रमा विपद्का कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने गरी प्रतिकार्यको तयारीमा जुट्न समेत निर्देशन दिएको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.