गंगासागर पोखरी क्षेत्रबाट अतिक्रमित संरचना हटाउने अभियान तिव्र

चैत्र १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
गंगासागर पोखरी क्षेत्रबाट अतिक्रमित संरचना हटाउने अभियान तिव्र

धनुषा । मधेश प्रदेश सरकारको सक्रियतासँगै जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागर पोखरी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान तिव्र पारिएको छ ।

गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा आइतबार पोखरी आसपासका अवैध संरचना हटाउन डोजर प्रयोग गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानले लामो समयदेखि विवादमा रहेको गंगासागर क्षेत्रलाई पुनः व्यवस्थित गर्ने लक्ष्य लिएको जनाइएको छ । 

स्थानीय प्रशासन, प्रहरी तथा नगरप्रहरीको उपस्थितिमा अतिक्रमित संरचना हटाइँदा केही स्थानमा सामान्य तनावसमेत देखिएको थियो । गृहमन्त्री महतोले गंगासागर पोखरीको संरक्षण धार्मिक आस्थासँग मात्र नभइ ऐतिहासिक पहिचान र पर्यटन प्रवर्द्धनसँग जोडिएको विषय भएको उल्लेख गर्नुभयो । 

उहाँले प्रदेश सरकार सार्वजनिक सम्पत्तिको संरक्षणमा कठोर ढंगले प्रस्तुत हुने स्पष्ट पार्दै आवश्यक परे अन्य क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन गरिने बताउनु भयो । स्थानीयवासीले वर्षौंदेखि अतिक्रमणका कारण पोखरी क्षेत्र साँघुरिँदै गएको गुनासो गर्दै आएका थिए । पछिल्लो कदमलाई धेरैले सकारात्मक रूपमा लिएका छन् भने केही व्यवसायीले भने वैकल्पिक व्यवस्थाविनै हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.