
सप्तरी । जिल्ला सदरमुकाम राजविराजमा नेकपा (एमाले)का नेता कार्यकर्ताहरूले शनिबार आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गरेको छ।
एमाले निकट कार्यकर्ता तथा समर्थकहरू सडकमा उत्रिँदै बजार क्षेत्रमा विरोध जनाएका हुन्। प्रदर्शनकारीहरूले ओलीको पक्राउलाई “राजनीतिक प्रतिशोध” भन्दै तत्काल रिहाइको माग गरेको हो। प्रदर्शनका क्रममा नाराबाजी गर्दै उनीहरूले बालेन्द्र सरकारको चर्को आलोचना गरेका थिए।
“लोकतन्त्रको हत्या बन्द गर” र “राजनीतिक पूर्वाग्रह त्याग” जस्ता नारासहित बजारका विभिन्न स्थानमा प्रदर्शन गर्दै नेता चौकमा पुगेर कोण सभा गरेका थिए। यता सुरक्षाको अवस्था ध्यानमा राख्दै नेपाल प्रहरीले विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।
यता एमाले जिल्ला नेतृत्वले विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्षमाथि गरिएको कारबाहीलाई गैरकानुनी र अलोकतान्त्रिक भएको आरोप लगाएको छ। साथै तत्काल रिहाइ नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी पनि दिएको छ। एमाले सप्तरीले शनिबार साँझ जिल्लाको विभिन्न ठाउँमा सरकारविरुद्ध मशाल जुलुस प्रदर्शनको तयारी गरिरहेका छन्।