
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धी भएको बताउनुभएको छ ।
बुधबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । वर्तमान सरकारले जेन-जी आन्दोनलपछिको असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउन सफल भएको बताउनु भयो । उहाँकाअनुसार निर्वाचन गराउने कार्य चुनौतीपूर्ण थियो ।
उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले तोकिदिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरेर संवैधानिक प्रणालीको सुदृढीकरण गरेको दाबी गर्नुभयो । उहाँकाअनुसार निर्वाचनले देशमा लोकतान्त्रिक मूल्य–मान्यता बलियो बनाउँदै नयाँ राजनीतिक अध्यायको ढोका खोलेको छ ।
निर्वाचनमार्फत मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको उहाँको भनाइ छ । सरकार गठनको समयको चुनौतीपूर्ण अवस्थालाई स्मरण गर्दै उहाँले देशको सुरक्षा अवस्था अत्यन्त संवेदनशील रहेको र राजनीतिक दलहरूबीच संवादहीनता रहेको बेलामा आफूले सरकारको नेतृत्व गरेको उल्लेख गर्नुभयो ।
कानुनी–राजनीतिक शुन्यता सिर्जना भएको अवस्थामा ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने कार्य सहज नभएको उहाँको भनाइ छ । उहाँले सरकारले निर्वाचन सम्पन्न गराउन सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा निर्वाचन आयोगको कार्यले सफलता हासिल गरेको बताउनु भयो ।
प्रधानमन्त्री कार्कीले यसपटकको निर्वाचनले सुरक्षा, स्वच्छता, मितव्ययिता र समयपालनामा नयाँ मानक स्थापित गरेको बताउनु भयो । उहाँले निर्वाचन घोषणापछि समेत मतदाता नामावली संकलन गरी ठूलो संख्यामा युवा मतदातालाई समेटिएको जानकारी दिनुभयो ।
राष्ट्रिय परिचयपत्र प्रणालीसँग तथ्यांक अन्तरआबद्धता गरी मतदाता प्रक्रियालाई सहज बनाइएको उहाँको भनाइ छ । उहाँले निर्वाचनमा मौज्दात सामग्रीको पुनःप्रयोग, सकेसम्म स्वदेशी सामग्रीको प्रयोग र सरकारी संयन्त्रमार्फत पारदर्शी खरिद प्रक्रियाले खर्च नियन्त्रणमा ऐतिहासिक उदाहरण प्रस्तुत गरेको दाबी गर्नुभयो ।
आगामी सरकारले पनि यस कार्यलाई अनुसरण गर्ने उहाँको विश्वास छ । उहाँले आचारसंहिताको कडा निगरानी तथा सुदृढ सुरक्षा व्यवस्थाका कारण कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नआएको बताउनु भयो । उहाँले निर्वाचनको लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदाय, सुरक्षाकर्मी, निर्वाचन आयोग लगायत सबैलाई धन्यावाद दिनुभयो । निर्वाचनले नेपालको लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत बनाएको उल्लेख गर्नुभयो ।