
काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरू उच्च पदमा पुग्दा महिलाहरूबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक-अर्काको वकालत गर्ने संस्कार बसाल्न आग्रह गर्नुभएको छ ।
शुक्रबार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानुन व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । भण्डारीले आगामी दिनमा न्यायपालिकामा महिला नेतृत्व पाउने आशा व्यक्त गर्दै सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
महान्यायाधिवक्ता भण्डारीले कानुन व्यवसायी महिलाहरू केवल पेसागत भूमिकामा मात्र सीमित नभइ समाज परिवर्तनका वास्तविक संवाहक भएको बताउनु भयो । महिला, बालबालिका, दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकार संरक्षणमा महिला कानुन व्यवसायीको भूमिका निर्णायक हुने उहाँले उल्लेख गर्नुभयो ।
समानता केवल संविधानमा लेखिएको शब्द मात्र नभइ व्यवहार र न्यायमा देखिनुपर्नेमा उहाँको जोड छ ।