बाढी र हावाहुरीले बारम्बार केराखेती नष्ट, बीमा नहुँदा किसान निराश

चैत्र ३, २०८२ |गणेशमान मुखिया
बाढी र हावाहुरीले बारम्बार केराखेती नष्ट, बीमा नहुँदा किसान निराश

झापा । कृषि बीमा नहुँदा झापाका केराखेती गर्ने किसान मर्कामा परेका छन्। 

बाढी, डुवान र हावाहुरीबाट केराखेती नष्ट गर्दछ। तर, कृषि बीमा नहुँदा ठूलो नोक्सानी व्यहोरेका किसानले राहात पाउँदैनन्। स्थानीय सरकारले समेत बीमाको पहल नगर्दा किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुन सकेका छैनन्।

झापा गाउँपालिका-३ का चन्द्रबहादुर बस्नेतले व्यावसायिक केराखेती गरेको पाँच वर्ष भयो । उहाँको करिब ३० विघा क्षेत्रफलमा लगाएको केराखेती गत असोज १८ गतेको बाढीले नष्ट गर्‍यो। दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी बजार पठाउने तयारी अवस्थामा रहेको करिब २१ हजार घरी केरा बाढीले एकै पटक स्वाहा भयो । 

उहाँ राहतका लागि गाउँपालिका, कृषि ज्ञान केन्द्रलगायत विभिन्न सरकारी निकाय धाउनुभयो । तर, उहाँको समस्या कसैले समाधान गरेनन्। मुख्य समस्या भनेको कृषि बीमा नहुनु हो। सरकारले कृषि बीमा गर्ने वातावरण बनाए किसानले नोक्सानी व्यहोर्नु पर्ने थिएन । तर, केराखेतीको बीमा गर्न बीमा कम्पनीहर तयार हुँदैनन्।

एकैपटक ठूलो क्षति व्यहोरेका बस्नेत कतैबाट क्षतिपूर्ति र राहत नपाए पनि पुनः केराखेती मै फर्किनुभयो। तर, फेरि पनि गत पुस २८ गतेको हावाहुरीले बजार पठाउने बेला भएको केरा नष्ट भयो। एउटै किसानका करिब तीन महिनाको अन्तरमा ३२ लाखभन्दा बढीको क्षति भयो। तर, प्रदेश सरकारले क्षतिपूर्ति दिने त परैको कुरा पीडित किसानलाई प्रोत्साहन गर्ने आवश्कता पनि ठानेनन्।

भारतबाट वार्षिक १ अर्ब ७२ करोड रूपैयाँको केरा आयत हुने सरकारी तथ्यांक छ। आयात प्रतिस्थापन गर्न पनि स्वदेशमै केरा उत्पादनमा जोड दिन जरूरी छ। सरकारले केराखेतीको बीमा गर्ने व्यवस्था मात्र मिलाए उत्पादन स्वतः बढ्ने मात्र नभइ केही वर्षमै केरामा आत्मनिर्भर हुने वातावरण बन्नेछ।


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।