धनकुटा प्रशासनले हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै

चैत्र ३, २०८२ |विनोद घिमिरे
धनकुटा प्रशासनले हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लामा आएको हावाहुरी र वर्षाका कारण भएको क्षतिको विवरण संकलन गर्न निर्देशन दिएको छ। 

जिल्ला सुरक्षा समिति धनकुटाको बैठकपछि कार्यालयले स्थानीय तह, जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायलाई क्षतिको यथार्थ विवरण संकलन गरी पठाउन आग्रह गरेको हो। पत्रमा चैत २ गते राति आएको हावाहुरी र वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा भएको भौतिक क्षतिको विवरण संकलन गरी प्रतिवेदन तयार पार्न भनिएको छ।

कार्यालयले नेपाल प्रहरी र सम्बन्धित निकायसँग समन्वय गरी क्षतिको विवरण संकलन गर्न र सो विवरणका आधारमा आवश्यक व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा पेस गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले जानकारी दिनुभयाे।

हाल हावाहुरीका कारण घर, सरकारी भवन तथा पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ भने विस्तृत विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।