कोशी पहाडमा नयाँ विकल्प : हर्क नेतृत्वकाे श्रम संस्कृतिले कसरी पुराना दललाई दियो चुनौती ?

चैत्र ३, २०८२ |लक्ष्मी गौतम
कोशी पहाडमा नयाँ विकल्प : हर्क नेतृत्वकाे श्रम संस्कृतिले कसरी पुराना दललाई दियो चुनौती ?

पाँचथर । श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको पाँच महिनामै राष्ट्रिय दल बन्न सफल भएको छ । 

यो दलले प्रत्यक्षमा तीन सिटसहित समानुपातिकमा तीन लाख ८५ हजार ८ सय ६ मत अर्थात् ३ दशमलव ६ प्रतिशत मत प्राप्त गरेर पाँचौँ स्थानमा छ । कोशी प्रदेशमा त श्रम संस्कृति समानुपातिक मत प्राप्त गर्नेमा दोस्रो स्थानमा छ । कोशीमा यो दलले दुई लाख ९२ हजार ४९ मत प्राप्त गरेको छ । खोटाङ, भोजपुर र पाँचथरमा त यो दल पहिलो नै बन्यो ।

धरानका पूर्वमेयरसमेत रहेका हर्कराज राई नेतृत्वको यो दल कोशीका पहाडमा एकाएक बलशाली कसरी भयो ?

श्रम संस्कृति पार्टी स्थापनाको पाँच महिनामै राष्ट्रिय दल बन्न सफल भएको छ। प्रत्यक्षमा ३ सिटसहित समानुपातिकमा ३ प्रतिशत बढी मत प्राप्त गरेर ६ मध्ये पाँचौ स्थान सुरक्षित गर्यो । धरानका पूर्वमेयर हर्कराज राई नेतृत्वको यो पार्टीले समानुपातिकमा ३ लाख ८५ हजार ८ सय ६ मत अर्थात् ३.६ प्रतिशत मत प्राप्त गरी थ्रेस होल्ड पार गर्यो ।

यो पार्टीले समानुपातिकतर्फ ४ सिट सुरक्षित गरिसकेको छ । यससँगै प्रतिनिधिसभामा अब श्रम संस्कृतिका ७ जना सांसदको प्रतिनिधित्व हुने पक्का भइसकेको छ । प्रत्यक्षतर्फ सुनसरी, खोटाङ र भोजपुर गरी ३ सिट जितेको यो पार्टिले समानुपातिकतर्फ सुनसरीसहित पाँचथर, इलाम, भोजपुर र खोटाङ जिल्लामा समानुपातिक तर्फ सर्वाधिक मत प्राप्त गर्दै कांग्रेस एमाले र नेकपालगायतका दललाई चुनौती दियो ।

देशभर राष्ट्रिय स्वतन्त्र पार्टिका पक्षमा जनमत उर्लिरहेका बखत कोशी प्रदेशका पहाडी जिल्लामा श्रम संस्कृति नै किन पुराना दलको विकल्प बन्यो त ?

श्रम संस्कृति पार्टी गत असोज महिनामा मात्रै स्थापना भएको हो। अध्यक्ष हर्कराज राईले असोजको अन्तिम साता निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। आयोगले कात्तिक १६ गते औपचारिक रूपमा दर्ता गर्दै प्रमाणपत्र प्रदान गरेको थियो। 

माटो चुनाव चिन्ह लिएर चुनावमा होमिएको श्रम संस्कृतिले छोटो अवधिमै राष्ट्रिय राजनीतिमा प्रभाव जमाउन सफल भएको हो । श्रम संस्कृति पार्टीले देशभर १ सय ९ स्थानमा उम्मेदवारी दिएको थियो। तीमध्ये तीन जनाले प्रत्यक्षतर्फ विजय हासिल गरेका छन्। 

अध्यक्ष राई सुनसरी १ बाट निर्वाचित भए। त्यस्तै पार्टीका महासचिव आरेन राई खोटाङबाट तथा नेता ध्रुव राई भोजपुरबाट निर्वाचित भए। पुराना दलप्रति असन्तुष्ट बनेका मतदाताले विकल्प खोजिरहेका बखत देशभर विकल्पका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले कोशी पहाडका गाँउ बस्तीसम्म सङ्घठन बनाउन नसक्नुले पनि प्रत्यक्ष यो पार्टीलाई त्यस भेगका मतदाताले विकल्पका रूपमा रोज्दा यस्तो भएको रास्वपा नेतृत्वले स्विकारेको छ ।

श्रम संस्कृति पार्टीका नेता कार्यकर्ताहरू भने श्रम संस्कृतिले सुरू गरेको श्रम अभियान र हर्क साम्पाङले उठाएको भ्रष्टाचार नियन्त्रणसँगै कोशीमा कमजोर बनेका पहिचान पक्षधर दलहरूको सहानुभूतिले पनि दर्ता भएको पाँच महिनामै राष्ट्रिय दल बन्न सफल भएको बताँउछन् ।

श्रम संस्कृति पार्टी पाँचथर, इलाम, भोजपुर र खोटाङमा समानुपातिक मतका आधारमा पहिलो दल बनेको छ । समग्रमा कोशी प्रदेशबाट समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी ८ लाख ४० हजार ६१३ मतसहित पहिलो पार्टी बन्दा २ लाख ८१ हजार ७ सय ५७ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ । यस्तै, नेकपा (एमाले) २ लाख ८० हजार ८ सय ३७ मतसहित तेस्रो स्थान सुरक्षित गरेको हो ।

प्रत्यक्षतर्फ सङ्खुवसभा ओखलढुङ्गा, खोटाङ उदयपुर र भोजपुर बाहेक कोशी पहाडका धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र इलामबाट कांग्रेस र एमालेकै उम्मेदवार विजयी भएका छन् । यद्यपि ती जिल्लामा पनि श्रम संस्कृतिले समानुपातिकमा सानदार मत प्राप्त गरेकाले पुराना दललाई धक्का पुगेको छ ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।