युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
चैत्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने ६ जना नेपाली पक्राउ परेका छन् ।

परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानुन र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै टिकटक, फेसबुकलगायतका सञ्जालमा भिडियो हाल्ने काम नगर्न कडा चेतावनी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका सरकारहरूले युद्ध र सुरक्षासँग जोडिएका विषयमा भिडियो बनाउने, फोटो खिच्ने र त्यसलाई सामाजिक सञ्जालमा शेयर गर्ने कार्यलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको जानकारी दिनुभयो । 

अरूले बनाएका त्यस्ता सामग्री शेयर गर्नु पनि ती देशहरूमा गैरकानुनी मानिन्छ । पक्राउ परेकाहरूलाई त्यहाँको कानुनअनुसार ठूलो रकम जरिवाना हुने, लामो समय जेल बस्नुपर्ने र सजाय भुक्तान गरेपछि डिपोर्ट (देश निकाला) समेत हुनुपर्ने गम्भीर अवस्था रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दूतावास र सञ्चारमाध्यममार्फत पटक–पटक सचेत गराउँदा पनि यस्ता घटना हुनु दुःखद् भएको बताउँदै त्यहाँको सरकारले गैरकानुनी मानेका कुनै पनि गतिविधिमा संलग्न नहुन सम्पूर्ण नेपाली श्रमिकहरूलाई विशेष अपील गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.