
ताप्लेजुङ । बाबुको प्रयत्नलाई पछ्याउदै ताप्लेजुङका एक युवकले आफ्नो र अरू समुदायकोपनि मातृ भाषाको किबोर्ड र लिपिबद्ध गर्ने एप निर्माण गरेका छन् ।
नि:शुल्क प्रयोग गर्न मिल्ने एप सार्वजनिक भएपछि देश तथा विदेशमा रहनेलाई मातृभाषा सिकाइ र लिपि सङकलनमा सहजता हुने अपेक्षा गरिएको छ । शिक्षण पेसाबाट बाहिरिएपछि मेरिङदेन गाउँपालिका-५ निवासी आफ्ना पिता मातृका शेर्पाले भाषालाई प्रविधिकरण गर्न गरेको प्रयासले उहाँका छोरा येदेन शेर्पालाई आकर्षित गर्यो ।
तिब्बतियन किबोर्ड डाउनलोड गर्ने र एउटा एउटा अक्षर छानेर गरेको झन्झटिलो प्रयत्नलाई विस्थापित गर्न सदरमुकाम फुङलिङमा रहेको आईटी एकेडेमीमा काम गरिरहेका उहाँले नेपाली कि बोर्ड र एप बनाउन थाल्नुभयाे । अन्नत अहिले नेटिभटाइप डट कम सार्वजनिक गर्नुभएकाे छ।
यसमा शेर्पा मात्रै नभएर लिम्बू, नेवारी भाषाकोपनि टाइपिङ गर्ने र लिपिबद्ध गर्न सकिने प्रविधि रहेको येदेन बताउनु हुन्छ । सूचना प्रविधिको युग भएकाले जातीय भाषा र लिपिहरूलाई डिजिटल प्लेटफर्ममा सुरक्षित र सहज बनाउनुका साथै नेपालमै भएका र विदेशमा रहेकालाई आफ्नो मातृभाषामा लेख्न, सिक्न र अभ्यास गर्न सहज हुने आईटी एकेडेमी ताप्लेजुङका प्रबन्धक बसन्त लिम्बू बताउनु हुन्छ ।
कम्प्युटरमा कुनै सफ्टवेयर डाउनलोड नगरी सिधै वेबसाइटमा गएर नेपाली, लिम्बू, सिरिजङ्गा, शेर्पा, टिबटी, नेवारी जस्ता लिपिहरू लेख्न र डकुमेन्टेसन सर्ग सकिने उल्लेख छ । यसमा प्रिति फन्टलाई युनिकोडमा बदल्ने, रोमनबाट सिरिजङ्गा लिपिमा रूपान्तरण गर्ने जस्ता प्रयोगमा आउने टूल्स समावेश छ भने टाइपिङ अभ्यासलाई रमाइलो बनाउन चार प्रकारका गेमपनि समावेश गरिएको छ ।