
कञ्चनपुर । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ अन्तर्गत कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघ गणना कार्य सुरू गरिएको छ ।
शुक्लाफाँटा-लालझाडी कम्प्लेक्समा वैज्ञानिक विधिबाट बाघको सङ्ख्या, वासस्थान र आहारा प्रजातिको अवस्थाबारे तथ्याङ्क सङ्कलन गर्न सर्वेक्षण अभियान सञ्चालन गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा तथा राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल नेपाल र डब्ल्युडब्ल्युएफ नेपालको सहयोगमा सर्वेक्षण कार्य सञ्चालन गरिएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत विनय कुमार झाले बाघको सङ्ख्या, आवतजावत र वासस्थानको अवस्थाबारे वैज्ञानिक तथ्याङ्क सङ्कलन गर्न सर्वेक्षण सुरू गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार बाघ पाइने क्षेत्रलाई विभिन्न ब्लकमा विभाजन गरी प्रत्येक दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइका ग्रिडमा स्वचालित क्यामेरा जडान गरी बाघको तस्बिर सङ्कलन गरिनेछ ।
क्यामेरा ट्र्यापमार्फत बाघको गतिविधि अभिलेख गरी प्राप्त तस्बिरहरूको विश्लेषणका आधारमा बाघको सङ्ख्या अनुमान गरिने निकुञ्जले जनाएको छ । यसका लागि प्राविधिक टोली, संरक्षणकर्मी, सुरक्षाकर्मी तथा स्थानीय समुदायको सहभागिता रहनेछ ।
शुक्लाफाँटा-लालझाडी कम्प्लेक्समा बाघ सर्वेक्षणका लागि ११ वटा क्याम्प स्थापना गरिनेछ भने करिब २ सय ६० वटा ग्रिडमा करिब ५ सय २० वटा स्वचालित क्यामेरा जडान गरिने योजना रहेको छ । विश्वमा बाघ नेपाल, भारत, भुटान, बङ्गलादेश, इन्डोनेसिया, मलेसिया, म्यानमार, थाइल्यान्ड, रूस, चीन, लाओस, कम्बोडिया र भियतनाम गरी १३ देशमा पाइन्छन् ।
सन् २०१० मा विश्वमा करिब ३२ सय बाघ रहेको अनुमान गरिएकोमा सन् २०२२ सम्म यो सङ्ख्या बढेर करिब ५२ सय पुगेको अनुमान गरिएको छ । नेपालमा भने बाघ संरक्षणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको छ । सन् २००९ मा नेपालमा १२१ बाघ रहेकोमा सन् २०१३ मा १९८, सन् २०१८ मा २३५ र सन् २०२२ मा बढेर ३५५ पुगेका छन् ।
सन् २०१० मा विश्व स्तरमा तय गरिएको लक्ष्यअनुसार सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर बनाउने अभियानमा नेपालले सफलता हासिल गर्दै विश्वमै उदाहरणीय उपलब्धि कायम गरेको मानिन्छ । नेपालको तराई भू-परिधिका पाँच संरक्षित क्षेत्रहरू चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका मध्यवर्ती वन, राष्ट्रिय वन र जैविक मार्ग क्षेत्रमा बाघ पाइन्छन् ।
बाघको अवस्था र संरक्षणको प्रभावकारिता मूल्याङ्कन गर्न प्रत्येक चार वर्षको अन्तरालमा राष्ट्रिय बाघ सर्वेक्षण गरिन्छ । राष्ट्रिय बाघ तथा आहारा प्रजाति अनुगमन प्रोटोकल २०२५ अनुसार सर्वेक्षण कार्य सञ्चालन भइरहेको हो । बाघ पाइने क्षेत्रलाई चितवन-पर्सा कम्प्लेक्स, बाँके-बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा-लालझाडी कम्प्लेक्स गरी तीन भागमा विभाजन गरी सर्वेक्षण अघि बढाइएको छ ।
यस सर्वेक्षणबाट प्राप्त तथ्याङ्क विश्लेषण गरी प्रतिवेदन राष्ट्रिय स्तरमा सार्वजनिक गरिनेछ । उक्त परिणामले बाघ तथा अन्य वन्यजन्तु र वासस्थानको अवस्थाबारे महत्त्वपूर्ण जानकारी प्रदान गर्ने र आगामी संरक्षण नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्न महत्त्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ ।
निकुञ्ज प्रशासनले सर्वेक्षण कार्य सफल बनाउन स्थानीय समुदाय तथा सरोकारवाला निकायलाई सहयोग गर्न आग्रह गरेको छ । साथै यस कार्यसँग सम्बन्धित कुनै जानकारी वा सूचना भएमा नजिकको निकुञ्ज कार्यालय, डिभिजन वन कार्यालय वा सुरक्षा निकायमा जानकारी गराउन अनुरोध गरिएको छ ।