कमला नगरपालिकामा महिनाैंदेखि सामाजिक सुरक्षा भत्ता रोकिँदा लाभग्राही प्रभावित

फाल्गुन २६, २०८२ |अनिल मिश्र
कमला नगरपालिकामा महिनाैंदेखि सामाजिक सुरक्षा भत्ता रोकिँदा लाभग्राही प्रभावित

धनुषा । धनुषाको कमला नगरपालिकामा अहिले विकास मात्रै होइन, ज्येष्ठ नागरिकको जीवन निर्वाहको आधार सामाजिक सुरक्षा भत्तासमेत रोकिएको छ । 

आठ महिनादेखि भत्ता नपाउँदा केही ज्येष्ठ नागरिकहरू औषधि, खाना र सामान्य दैनिकी चलाउनसमेत घरबारी बेच्न बाध्य भएका छन् । जनप्रतिनिधिहरूबीचको विवादका कारण नगरसभा हुन नसक्दा सामाजिक सुरक्षा भत्ताका ९ हजारभन्दा धेरै लाभग्राहीहरू त्यसबाट वञ्चित भएका हुन् । 

यसको मारमा शिक्षक र कर्मचारीहरू पनि परेका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट २५ किलोमिटर पूर्वमा पर्छ माचि झिटकैया गाउँ । कमला नगरपालिका २ मा रहेको यो गाउँमा बस्नुहुन्छ रामसोभित महतो दम्पती । मोटरसाइकलले ठक्कर हानेपछि थला पर्नुभएका महतो र उहाँकी श्रीमतीले आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाउनुभएको छैन ।

जनप्रतिनिधिहरूको लापरबाहीका कारण सोही नगरपालिका लगमाका ७२ वर्षीय गंगाई ठाकुर पनि सामाजिक सुरक्षा भत्ता प्राप्तिबाट वञ्चित हुनुहुन्छ । प्रत्येक तीन महिनामा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता आठ महिनदेखि पाउनुभएको छैन ।

नगर प्रमुख यादवले गत आर्थिक वर्षको आय व्यय प्रस्तुत गर्न नमानेपछि जनप्रतिनिधिहरू बीच सुरु भएको किचलोका कारण असार १० गतेभित्र गरिसक्नुपर्ने नगर सभा अहिलेसम्म हुन सकेको छैन । यसले विकास निर्माणको काम ठप्प त छ नै कमला नगरपालिकाको ९ वटा वडाका ९ हजार ५ सयभन्दा बढी ज्येष्ठ नागरिकलगायतका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरू भत्ता पाउनबाट वञ्चित भएका छन् ।

शिक्षा, स्वास्थ्य, कृषि, वडा सचिवलगायतका कर्मचारीहरूले पनि दशैं, तिहार र छठजस्तो महत्त्वपूर्ण चाडपर्व बितिसक्दा पनि आर्थिक वर्ष सुरू भएयता तलब भत्ता पाएका छैनन् । स्वास्थ्य संस्थामा औषधी छैन भने स्कुले किशोरीहरू स्यानेटरी प्याडबाट समेत वञ्चित भएका छन् । 

४२ हजारभन्दा बढी जनसङ्ख्या रहेको यो नगरपालिकाले गएको वर्ष भदौमा ५७ करोडभन्दा बढीको बजेट ल्याएको थियो ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।