
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा पार्टीले लज्जास्पद हार ब्यहोरेपछि नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरूमा नेतृत्वको राजीनामाको माग बढ्न थालेको छ ।
निर्वाचनमा नेपाली कांग्रेस १७ सिटमा खुम्चिँदा सभापति गगन थापासहित सबै पदाधिकारीले चुनाव हारेका छन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सबै पदाधिकारी पराजित भएका छन् । पार्टीले भोग्नुपरेको पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै नेपाली कांग्रेस र नेकपा एमालेसहित दलका नेतृत्वको राजीनामाको माग बढ्न थालेको छ ।
उनीहरूको राजीनामाले पार्टीका शीर्ष नेतालाई पनि दबाब परेको छ । गत भदौ २३ र २४ गतेको घटनापछि बदलिएको दाबी गर्ने र उक्त घटनालाई कम आंकलन गरेका दलहरुलाई यस पटकको निर्वाचनमा मतदाताले अस्वीकार गरेपछि पुराना भनिएका दल र नेतृत्व रूपान्तरणको बहस सुरू भएको हो ।
पार्टीले हारेपछि नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पौडेलले राजीनामा दिनुभएको छ । जनताको अपेक्षा एकातिर र नेताको स्वार्थ अर्कोतिर हुँदा पार्टीले ठूलो पराजय भोग्नुपरेको भन्दै उहाँले रूपान्तरणको सुरूवात गर्न राजीनामा दिएको बताउनुभयो ।
नेपाली कांग्रेसभित्र पनि सभापति गगन थापासहित नेतृत्वले पद छाड्नुपर्ने स्वर बढ्दै गएका छन् । जसपा र जनमत लगायत अरु पार्टीका नेता कार्यकर्ताले पनि नेतृत्वले नैतिक जिम्मेवारी लिएर पद छाड्नुपर्ने माग गरेका छन् । जनमत पार्टीका मिर्चैया नगर सभापति अजय साहले मधेश आन्दोलनपछि राजनीतिक मुद्दा स्थापित गरेका दलहरू निर्वाचनबाट शून्यमा झर्नु नेतृत्वकै कार्यशैली कारक भएको बताउनुभयो।
चुनावमा पराजयको जिम्मेवारी नेतृत्वले लिनुपर्ने र पार्टी रूपान्तरण गर्नुपर्ने उहाँको माग छ । कांग्रेस, एमाले र नेकपामात्र नभइ मधेश केन्द्रित दलहरुलाई पनि यस पटक जनताले अस्वीकृत गरेका छन् । यसपालीको निर्वाचन यो परिणामले स्थानीयदेखि प्रदेश र केन्द्रीय नेतृत्वलाई पनि पद छाड्न दबाब बढ्दै गएको छ ।