काठमाडौं । प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएर नतिजासमेत लगभग आइसकेको छ ।
सांसदहरू सपथ लिन तम्तयार छन् । तर, सांसदहरूले सपथ लिने संसद् भवन अझै तयार भएको छैन । निर्माण सुरू भएको ६ वर्षमा पनि नयाँ भवन निर्माण तयार नभएपछि संसद् सचिवालयले नयाँ संसद्का सदस्यहरूलाई नयाँ बनिरहेको भवनभित्रैको एउटा कुनामा सपथ दिलाउने तयारी गरेको छ।
सिंहदरबार परिसरको १ सय ५६ रोपनी क्षेत्रफलमा २०७६ देखि निर्माण थालिएको नयाँ संसद् भवनको काम अझै अधुरो छ । संसद् भवन निर्माण पूरा नहुँदा नयाँ संसद्को बैठक बस्ने ठाउँकै टुंगो लाग्न सकेको छैन । सपथका लागि नयाँ भवनकै एक छेउमा वैकल्पिक व्यवस्था गरिँदैछ ।
राष्ट्रपति, प्रधानमन्त्री, तत्कालीन सभामुखसहित संसद् सचिवालयका पदाधिकारीले पटक-पटक निरीक्षण गर्दै छिटो काम सकाउन निर्देशन दिए पनि निर्माण अझै सकिएको छैन । २०७६ असोज १६ मा २०७९ भित्रै निर्माण गरिसक्ने गरी ६ अर्ब २९ करोड २७ लाखमा ठेक्का लगाइएकोमा पाँचौं पटक थपिएको म्याद पनि गत पुस १६ मै सकिइसकेको छ ।
फेरि छैटौं पटक थोरै समयका लागि म्याद थप्ने तयारी भइरहँदा ९२ प्रतिशतमात्रै काम सकिएको छ । 'रुफिङ’ र ‘इन्टेरियर’ को जिम्मा फरक-फरक कम्पनीले लिए पनि दुवै काम सकिएका छैनन् । प्रतिनिधि सभा, राष्ट्रिय सभा भवन, सेन्ट्रल लबी, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय र संग्रहालय तयार गरिँदै छ ।
संसदीय दलको कार्यालय, संसदीय समिति, संसद् सचिवालय, चमेना गृह, प्रेस र छपाइ तथा पार्किङ भवन बनाइँदैछ । तर हालसम्म कुनै पनि पूर्ण रूपमा तयार छैनन् ।