
रोल्पा । रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा वर्षमान पुन विजयी हुनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता पुनले अर्थशास्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका डा. सुदनकुमार वलीलाई १५ हजार ४सय ५२ मतले पराजित गर्दै विजयी हुनुभएको हो । उहाँ रोल्पाबाट लगातार तेस्रो पटक जित्नु भएको हो ।
पुनले २७ हजार ४ सय ६० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा.वलीले १२ हजार ८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापाले १० हजार ८ सय ९४ मत प्राप्त गर्नुभएको छ, भने नेकपा (एमाले)का गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३ मत प्राप्त गर्नुभएको छ ।
रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन पुनको संसदीय यात्रामा यो चौथो जित हो । रोल्पा नगरपालिका-७ जंकोट माडिचौरका पुन पहिलो पटक २०६४ सालको संविधान सभा निर्वाचनमा ललितपुर–१ बाट विजयी हुनुभएको थियो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मोरङ-९ बाट पराजित हुनुभएका उहाँ २०७४ र २०७९ सालको प्रतिनिधि सभा सदस्यमा रोल्पाबाट निर्वाचित हुनुभएको थियो ।
तत्कालीन नेकपा (माओवादी) हालको नेपाली कम्युनिष्ट पार्टीमा छोटो समयमा धेरै अवसर पाउने नेताका रूपमा चिनिनुहुन्छ । उहाँ नेकपा संयोजक पुष्पकमल दाहालको विश्वासपात्र नेताका रूपमा समेत परिचित हुनुहुन्छ । २०६७ सालमा झलनाथ खलान नेतृत्वको मन्त्रिपरिषद्मा शान्ति तथा पुनर्निर्माण मन्त्री हुनुभएका उहाँ अर्थसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सहमालि सक्नुभएको छ ।
कुल खसेको ६८ हजार ९ सय १७ मत खसेकोमा ३ हजार १ सय ४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले जानकारी दिनुभएको छ ।