
सर्लाही । प्रतिनिधि सभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नितिमा भण्डारी कार्की निर्वाचित हुनुभएकाे छ।
अन्तिम मतपरिणामअनुसार कार्कीले ४४ हजार १ सय ८१ मत प्राप्त गर्दै विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८ सय ७१ मत प्राप्त गर्नुभयाे। एमालेका मनोज कुमार देवकोटाले ६ हजार १ सय १ मत पाउनुभएकाे छ।
कार्कीले आफ्नो प्रतिद्वन्द्वीसँग ३६ हजार ३ सय १० मतको फराकिलो अन्तर बनाउँदै प्रतिनिधि सभा सदस्यको रूपमा विजय हासिल गर्नुभएकाे क्षेत्र १ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौं -९ सिनामंगलकी कार्की सर्लाही क्षेत्र नम्बर १ बाट पहिलाेपटक जित्दै संसदीय यात्रा प्रारम्भ गर्नुभएकाे हाे ।
व्यापारी पृष्ठभुमिका उहाँ माइत लालबन्दी नगरपालिका-१ रहेको क्षेत्रबाट उम्मेदवार बन्दै जित निकाल्नुभएकाे हाे । ४३ वर्षीया कार्कीले मुलुक परिवर्तनकाे लागि भएको जेन-जी आन्दोलन पछि रास्वपा प्रवेश गर्नुभएकाे थियाे ।