संखुवासभाको थुदाम केन्द्रको मतपेटिका मौसमका कारण ल्याउन नसक्दा मतगणनामा ढिलाइ

फाल्गुन २२, २०८२ |दीपेन्द्र शाक्य
संखुवासभाको थुदाम केन्द्रको मतपेटिका मौसमका कारण ल्याउन नसक्दा मतगणनामा ढिलाइ

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रको मतपेटिका मौसमका कारण सदरमुकाम ल्याउन नसक्दा मतगणना ढिलाइ भएको छ। 

थुदाममा १३ मत मात्रै खसेको छ । त्यहाँ ६३ मतदाता थिए । सेनाको हेलिकप्टरले भौगोलिक रूपमा विकट मानिएका भोटखोलाका तीन र सिलिचोङ गाउँपालिकाका दुई मतदान केन्द्रका मतपेटिका ल्याउने प्रयास गरे पनि थुदाममा पानी परिरहेकाले ल्याउन सकिएको छैन । 

सेनाको हेलिकप्टर मतदान केन्द्रमा अवतरण हुन नसकेको खाँदवारीमा रहेको इन्द्रदल गुल्मले जनाएको छ । भोटखोला गाउँपालिकाको रिदाक र किमाथाङ्का तथा सिलिचोङ गाउँपालिका-५ को काम्पेक र गौथलाको मतपेटिका ल्याइएको डीएसपी कुमारप्रसाद मैनालीले बताउनुभयाे । एक सय २४ मतदान केन्द्रको पैदल मार्गबाट मतपेटिका गणनास्थल ल्याइसकिएको छ । जिल्लामा एक अस्थायीसहित १६५ मतदान केन्द्र छन् ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।