
रोल्पा । रोल्पामा शुक्रबार दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने सहमति भएको छ।
मतगणनाको तयारीबारे छलफल गर्न बिहान ८ बजेदेखि बसेको सर्वदलीय बैठक भर्खरै सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले जानकारी दिनुभयो। बिहीबार फर्जी मत रोक्न खोज्दा नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले नेकपा (एमाले) का कार्यकर्तामाथि कुटपिट गरेका थिए।
कुटपिटमा संलग्न नेकपा कार्यकर्तालाई प्रहरीले मुद्दा नचलाइ छोडेको भन्दै अन्य राजनीतिक दलले विरोध गरेपछि मतगणना सुरू हुन सकेको थिएन। कुटपिटमा संलग्नहरुको जाहेरी दर्ता गरी कारबाही प्रक्रिया अघि बढ्ने तथा घाइतेहरूको उपचार गर्ने सहमति भएपछि मतगणना सुरू गर्न लागिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनुभयो।
एउटामात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको रोल्पामा कुल १ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेका छन्। जसमध्ये ४६.३९ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।