रुकुम पश्चिम । देशको पश्चिमी क्षेत्रमा अवस्थित एउटा सुन्दर भूगोल । जैविक विवधताले भरिपूर्ण । अनि अथाह सम्भावनाको खानी । तर यही भूगोलसँग छ कर्णाली नदीजत्तिकै लामा अनि रारा तालजत्रै फराकिला गुनासाहरू ।
दशकौँदेखि फोक्सुन्डोभन्दा गहिरो गरिबी र अभाव झेल्दै आएको कर्णाली प्रदेशको आवाज सहकर्मी महेश केसीले अभिव्यक्त गर्नुभएको छ ।
गत असार ३१ गते कर्णालीको हुम्लामा पहिलो पटक सवारी पुगेको समाचार राष्ट्रिय चर्चाको विषय बन्यो । कर्णाली के हो भनेर चिन्न बस् यति काफी छ । तर कर्णाली सुन्दर भूगोल र अनन्त सम्भावनाको खानी पनि हो । सम्भाव्यता र वास्तविकताको यही खाडल पुर्न कर्णाली मत क्रान्तिको तयारीमा छ ।
देशकै ठूलो र गहिरो तालदेखि लामो नदी अनि अग्ला हिमालको मनोरम भूगोल कर्णाली । कर्णालीबासीलाई चाहिएको छ त केवल सुखी र समृद्ध जीवन बाँच्ने आधार । अनि चाहिएको छ, हातमुख जोड्नकै लागि सिमाना नाघेर काला पहाड हिँडेका पाइलाहरूलाई यहीँ रोक्ने योजना ।
रोग, भोक, शोक अनि गरिबी र अशिक्षाको अँध्यारोमा प्रताडित कर्णालीलाई धेरैले सुनको सिरानी हालेर नुनको खोजीमा रूमल्लिएको क्षेत्र पनि भन्छन् । जलविद्युत्, जडिबुटी, पर्यटन र प्राकृतिक स्रोतजस्ता अनेक क्षेत्रमा कर्णाली निकै सामर्थ्यवान् छ । कर्णालीकै दैलेखमा ८० अर्ब ७० करोड घनमिटर मिथेन ग्यास रहेको अध्ययनहरूले पुष्टि गरिसकेका छन् ।
यो भनेको संसारका अन्य खानीसँग दाँजेर हेर्दा मझौला आकारको हो । यहाँबाट व्यावसायिक हिसाबमा ग्यास निकाल्न सके, यसले प्रदेश मात्र होइन, देशकै कायापलट हुन्छ । यहाँका नदी, खोला र तालहरूमा जलविद्युत्को अपार सम्भावना पनि छ । तर विडम्बना, हालसम्म मुस्किलले १० मेगावाट उत्पादन भइरहेको छ ।
अर्ग्यानिक कृषि, बहुमूल्य जडिबुटी र पर्या-पर्यटनको सम्भावना पनि परिणाममा भेटिँदैन । अरू त अरू बर्सेनि खराब सडककै कारण कर्णालीमा सवारी दुर्घटनामा धेरैको ज्यान जाने गरेको छ । यसपल्टको निर्वाचनमा कर्णाली प्रदेशका कुल १२ वटा निर्वाचन क्षेत्रबाट जम्मा १ सय ३४ जना उम्मेदवार बनेका छन् ।
सबैका प्रतिबद्धता छन् विकास र समृद्धि । तर भुइँको यथार्थ के हो भने, कर्णालीकै जाजरकोटमा रहेको जुनिचाँदे गाउँपालिका देशकै गरिब पालिका हो । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशको औसत गरिबी दर २०.२७ प्रतिशत रहँदा जुनिचाँदेको ७७.९ प्रतिशत छ । गरिबीको यो दुश्चक्र तोड्ने कसले ।
भनिन्छ नी, बेला आएपछी एकदिन इतिहास दोहोरिन्छ । कुनै समय खस साम्राज्य कालमा समृद्ध र शक्तिशाली क्षेत्र कर्णालीमा त्यो वैभव कहिले फर्किएला ? यतितबेला कर्णालीबासी यसैको प्रतिक्षामा छन् ।