
झापा । चुनाव प्रचारको अन्तिम रस्साकसी चलिरहँदा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार आफ्नो जित निकाल्ने ध्याउन्नमा छन् ।
अघिल्ला दुई संसदीय निर्वाचनमा विजयी बन्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारबीच यो क्षेत्रमा कडा टक्कर हुने देखिएको छ ।
२०७४ र २०७९ सालको निर्वाचनमा एमालेसँगको तालमेलबाट झापा क्षेत्र नम्बर ३ मा विजयी बनेका राजेन्द्र लिङ्देन यो पटक कसैसँग तालमेल नहुँदा पनि जित निकाल्ने दाबीसाथ चुनाव प्रचारमा व्यस्त देखिन्छन् । घरदैलो र चुनावी सभाहरूमा आफूले गरेका विकासे योजनाहरूको फेहरिस्त सुनाउँदै मत मागिहरेका लिङ्देन यो क्षेत्रका मतदाताले अहिले पनि साथ दिने विश्वासमा छन् ।
यसअघिका दुई निर्वाचनमा एमालेलाई समर्थन गरेको एमालेबाट यो पटक हरिबहादुर राजवंशी प्रतिस्पर्धामा छन् । एमालेको बलियो पकड मानिएको यो क्षेत्रमा आदिवासी समुदायबाट हरिबहादुरको उपस्थिति अरू उम्मेदवारका लागि निकै चुनौती बनेको छ ।
राजवंशी यो पटक जसरी पनि एमालेको विरासत फर्काउने ध्याउन्नमा छन् । उता कांग्रेस उम्मेदवार राजेन्द्र घिमिरेको उम्मेदवारीले राप्रपा र एमालेले सोचेभन्दा फरक नतिजा दिन सक्छ । घिमिरे अघिल्ला चुनावमा कृष्ण सिटौलाले गुमाएको सिट सुरक्षित गर्ने योजनासहित प्रचारको रफ्तार बढाइरहेका छन् ।
अघिल्लो निर्वाचनमा झिनो मात्र मत पाएका रास्वपा उम्मेदवार प्रकाश पाठक पनि यो पटक मतदाताको उर्लंदो क्रेजको साथमा चुनाव जित्ने कसरतमा देखिन्छन् । आगामी फागुन २१ गते हुने निर्वाचनमा झापा-३ मा विभिन्न दल र स्वतन्त्रसमेत गरी १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
तीमध्ये कसको पल्ला भारी हुन्छ, त्यसका लागि भने अझै केही दिन पर्खनै पर्ने हुन्छ ।