
जाजरकोट । घर थियो, आँगन थियो, खेतबारी थियो ।
दुःख गरेर जोडेको त्यही संसार गत साउन ३० गतेको पहिरोले एकैछिनमा तहसनहस बनाइदियो । अहिले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडितहरूसँग न घर छ, न सुरक्षित बासको टुंगो । छ त केवल—कहाँ बस्ने र कसरी बाँच्ने भन्ने चिन्ता ।
भेरी नगरपालिका–२ रिसाङकी ६० वर्षीया चन्द्रकली विक अहिले त्रिभुवन माविको अस्थायी आश्रयमा हुनुहुन्छ । पहिरोले घरसँगै वरिपरिको जग्गा–जमिनसमेत बगाएपछि उहाँ बिचल्लीमा पर्नुभएको हो । त्यसमाथि बिरामी श्रीमान् अस्पतालमा भर्ना भएपछि चन्द्रकलीमाथि संकट थपिएको छ । खाने गाँस र बस्ने बासको टुंगो छैन, लगाउने कपडा छैन ।
चन्द्रकलीको जस्तै पीडा रिसाङका धेरै पहिरोपीडितको छ । पाखो नै चिराचिरा परेर बस्नै नसक्ने भएपछि रिसाङका ७० परिवारका दुईसय जनालाई त्यहाँबाट निकालेर त्रिभुवन माविको यो अस्थायी सेल्टरमा राखिएको छ । उनीहरू सबैको एउटै माग छ, सुरक्षित स्थानमा स्थायी बासको व्यवस्था चाँडो गरियोस् ।
यही पीडाको अर्को उदाहरण हुनुहुन्छ ६१ वर्षीया जयकली विक । उहाँ पहिरोमा परेर मुस्किलले बाँच्नुभयो । ज्यान त जोगियो तर उहाँको घरबास भने पहिरोमा बग्यो । तात्कालीन राहतले पाए केही समय बाँच्न सकिएला, तर सुरक्षित बसोबासको व्यवस्था भएन भने फेरि त्यही जोखिममा बाँकी जीवन गुजार्नुपर्ने डर जयकलीलाई छ ।
रिसाङकै शिला विक शारीरिक रूपमा अशक्त हुनुहुन्छ । उहाँको घर पहिरोले बगाएको त छैन । तर, वरिपरिबाट पहिरो आएपछि घरमा बस्नसक्ने अवस्था छैन । जोखिमका कारण उहाँ पनि अहिले त्रिभुवन माविको अस्थायी सेल्टरमा बसिरहनुभएको छ ।
रिसाङका पीडितका लागि तत्कालको राहतसँगै दीर्घकालीन पुनःस्थापनाको काम अघि बढाउनुपर्ने देखिन्छ । गत साउन ३० गतेको वर्षापछि आएको पहिरोले त्यहाँ ४ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।